२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

राजसंस्थाको माग गर्दै आज पनि रुपन्देहीमा प्रदर्शन हुँदै

शिव सेना नेपालका केन्द्रीय अध्यक्षले सम्बोधन गर्ने

शुक्रवार , मंसिर २६, २०७७

बुटवल, २६ मंसिर । 
राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै देशभर विभिन्न संघ–संस्थाले प्रदर्शन जारी राखेका छन् । त्यसै क्रममा आज (शुक्रबार) पनि रुपन्देहीमा राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै मोटरसाइकल तथा कार र्‍याली प्रदर्शन हुन लागेको छ । 
भलबारीबाट दिउँसो १ बजे सुरु हुने प्रदर्शन बुद्धचोक, लुम्बिनी रोड, गल्लामण्डी, मिलनचोक, देवकोटाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभा गरी समापन हुने आयोजक शिव सेना नेपालले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । 

शिव सेना नेपालले कार्यक्रमको संयोजन गरे पनि ब्यानरमा भने रुपन्देहीवासी जनतालाई आयोजक भनिएको छ । र्‍यालीमा सहभागी हुनेहरुले राष्ट्रिय झण्डा मात्रै बोक्ने शिव सेना नेपालका केन्द्रीय सदस्य अनिल जैसवालले बताए । राजसंस्था नहुँदा मुलुकको राष्ट्रियता संकटमा परेको र विदेशी हस्तक्षेप बढेको, भ्रष्टाचारले सीमा नाघेको र संघीयताको नाममा मुलुक झन् कमजोर बनेको हुँदा राष्ट्रियता जोगाउन राजसंस्था पुनःस्थापनाको लागि जनतामा जागरण ल्याउन प्रदर्शन अभियान थालिएको जैसवालको तर्क छ । 

कोणसभालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको शिव सेना नेपालका रुपन्देही अध्यक्ष विपिन मल्लिकले बताए । प्रदर्शनमा हजारौं राष्ट्रप्रेमी जनता स्वतःस्फुर्त रुपमा सहभागी हुने अपेक्षा गरिएको शिव सेना नेपालकै नारायण अर्यालले बताए ।