बिहिवार , श्रावण २६, २०७९
भक्तपुर, २६ साउन। भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार (आज) यस्तै अपत्यारिलो घटना भएको छ ।
प्रत्येक वर्ष जनैपूर्णिमाको दिन यहाँं यसरी नै आ-आफ्नाे खेतमा पुगेर किसानहरूले भ्यागुतालाई भोज खुवाउँछन् । यो दिन क्वाँटी (विभिन्न गेडागुडीको मिश्रणबाट तयार पारिएको परिकार) बनाएर खाने चलन छ । यस्ताे परिकार पहिला भ्यागुतोलाई खुवाइन्छ । भोजको लागि किसानहरू बिहानआ-आफ्नो खेतमा भोज लिएर पुग्छन् ।भ्यागुतालाई भोज खुवाउने भनेपछि भ्यागुतोलाई नै हातमा लिएर खुवाउने हो कि ? भन्ने प्रश्न मनमा आउन सक्छ । तर, होइन् । भ्यागुताकाे भोज घरमै तयार गरेर खेतको डिलमा राखेर आउने चलन हो ।भ्यागुतालाई भोज खुवाउने परम्परालाई स्थानीय किसानहरू नेपाल भाषामा व्यां चा जानक वानेगू अर्थात् भ्यागुतालाई खाना खुवाउन जाने भनेर चिन्छन् । जहाँं व्यांको अर्थ भ्यागुतो र जानक वानेगूको अर्थ खाना खुवाउन जाने भन्ने हाे ।
भोज लिएर खेत जानको लस्कर
बिहीबार बिहानैदेखि आआफनो खेतमा पुगेर भ्यागुतालाई भोज खुवाउन जाने किसानहरु जताततै भेटिएका थिए । एकाबिहानै खेतखेतमा पुगेर किसानहरू आफ्ना खेतका भ्यागुतालाई भोज खुवाउन हिँडेका थिए । कोही हिँडेर, कोही साइकलमा त कोही मोटरसाइकलमै चढेर पनि भ्यागुतालाई भोज खुवाउन भने जाने गएको देखेको थियो ।बिहानै सूर्यविनायकस्थित नौतेस्थित आफ्नो खेतमा भ्यागुतालाई भोज दिन पुगेकी लक्ष्मी महर्जनले परम्पराअनुसार प्रत्येक वर्ष जस्तै आफ्नो खेतका भ्यागुतालाई भोज खुवाउने हिडेको बताइन् । परम्पराअनुसार खेतमा पुगेर भ्यागुताको भोज खेतमा छोड्ने चलन छ । भ्यागुताको भोजको परिकारलाई पातमा राखेर आ-आफ्नो खेतमा छोड्ने परम्परा छ ।
भोजको परिकारमा के के हुन्छ?
भोजका परिकारमा क्वाटी, फलफूल, चामलको भात, सुपारीलगायतका खाद्य सामाग्री हुन्छ । खाद्यान्नका साथै किसानले भ्यागुतालाई श्रृंगारपटारका सामान पनि लिएर जाने परम्परा छ । मुलालाई काटेर सिन्काले चोपेर तयार पारिनुलाई भ्यागुताका लागि ऐना नाम दिदैँ.आएको छ ।भ्यागुतालाई भोज राखिदिएपछि राख्न जाने किसानले पनि त्यही खेतमै भोज खाएर आउने चलन छ । यसका लागि घरबाट खेत जानु अगाडि नै भ्यागुतालाईसहित आफूलाई पनि रोटी, क्वाटीसहितको परिकार लिएर खेत जाने चलन अझैसम्म जस्ताको तस्तै छ ।
संस्कृतिविद् डा. वीरेन्द्र कायष्ठले किसानको सहयोगीको रुपमा रहेकोले भ्यागुतालाई सम्मानका साथ भोज खुवाउने परम्परा चलिआएको सुनाए । आफ्नो बालीनाली संरक्षणमा सहयोग गरेको कदर गर्दै किसानले भ्यागुतालाई वर्षमा एक पटक भोज खुवाउने परम्परा अहिले पनि जस्ताको तस्तै रहेको इतिहासविद् डा. कायष्ठ बताउँंछन् । न्युज कारखाना
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij