शुक्रवार , चैत्र २७, २०८२
भैरहवा, २७ चैत । साई ग्लोबल क्रिकेट क्लबले भैरहवामा जारी २४ औं संस्करणको रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनका खेलमा दोस्रो जीत निकालेको छ । आफ्नो दोस्रो जीत निकाल्ने क्रममा साई ग्लोबलले शुक्रबार गोलपार्क क्रिकेट क्लबलाई ५ विकेटले हराएको हो ।
जीतका लागि पाएको २ स १४ रनको लक्ष्य साई ग्लोबलले ३३ ओभर ३ बलमा ५ विकेटको नोक्सानीमा २ सय १८ रन बनाउँदै पूरा गर्यो । उसको जीतमा जितेन्द्र केवटले ९७, शैलेन्द्र यादवले अविजित ३६, जावेद खानले २८ र अजय चाईले नटआउट २३ रनको योगदान गरे । बलिङमा गोलपार्कका सुप्रिम कंडेलले ३ तथा प्रशान्त अर्याल र अनिश जोय गुरुङले १–१ विकेट लिए ।
यसअघि सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको गोलपार्कले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १३ रन बनायो । उसका लागि अनिश जोय गुरुङले १ सय २८ रनको शतकीय पारी खेले यस्तै, अशुफक खानले १९, अर्पण तिमिल्सिनाले १५ र रिक्कीराम पुनले १४ रन बनाए ।
बलिङमा साई ग्लोबलका सहज अर्यालले ३, शैलेन्द्र यादवले २ तथा शिवकुमार गुप्ता, सत्यम हरिजन र जावेद खानले १–१ विकेट लिए । खेलमा जितेन्द्र केवट प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए ।
प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले प्रायोजन गरेका छन् ।
त्यस्तै म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रवि कुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित कुमार गुप्ताले गरेका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागीता छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij