२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

बुटवल उपमहानगर : कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा

सोमवार , आषाढ २७, २०७९

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ। 

सोमबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच १२ वर्ष माथिका उमेर समुहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । 

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको भन्दै पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरेको जानकारी गराएका थिए । 

बुटवल उपमहानगरपालिकामा खोप लगाउन बाँकी रहेका पूर्ण खोपका लागि आह्वान गर्दै खोप केन्द्र मार्फत सेवा प्रदान गरिएको नगरप्रमुख पाण्डेले जानकारी दिए । उनले तथ्यांक संकलकहरुलाई अभिमूखीकरण गरी खोप नलगाउने तथा छुट नागरिकहरुको तथ्यांक संकलन, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा प्रचार प्रसार, छुट नागरिकहरुलाई खोप सेवाप्रदान, वडाबाट रेण्डम सर्वेक्षण, सबै वडाहरुको पूर्ण खोप घोषणा गरी दिगोपना सुनिश्चित गरिएको बताए । 

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले बुटवलले बुटवल भित्र र बुटवल बाहिरका नागरिकलाई समेत कोभिडकालमा सेवाप्रदान गरेको बताइन् । उनले बुटवलमा खोेप सुनिश्चित भएको र खोप लगाउन बाँकी रहेकाहरुलाई खोप लिन आह्वान गरिन् । 

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नका लागि जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेसन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस, जिल्लाखोप समन्वय समितिबाट भेरिफिकेसन गरी पूर्णखोप गर्न अनुमति प्रदान भएको जानकारी गराए । 

उनले बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ मध्य १२ वर्ष माथि पूर्ण खोप लगाएका १ लाख ५७ हजार ३९३ जनालाई खोप लगाईएको जानकारी दिए। उनले ९ हजार ८६५ जनालाई खोजेर र नगर बाहिरका २२ हजार ६६३ जनालाई खोप लगाईएको जानकारी दिए । 

कार्यक्रममा कोभिड १९ नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्ने प्रदेशको स्वास्थ्य, जनसंख्यातथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, सामाजिक तथा गैरसरकारी संघ संस्थाहरु, स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयमसेविकाहरु, उपमहानगरपालिकाका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।