
बिहिवार , आषाढ १६, २०७९
भैरहवा, १६ असार ।
कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै भीम अस्पताल संघर्ष समिति गठन गरेका स्वास्थ्यकर्मीहरुले बिहीबार आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । गते १३ गते भैरहवास्थित भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले पत्रकार सम्मेलन गरी आफूहरुले जोखिम भत्ता पाउनुपर्ने माग राखेका थिए । उनीहरुले असार १६ गतेसम्म पर्खने र सो समयसम्म पनि माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका थिए । सोहीअनुसार आन्दोलनका कार्यक्रम घोषणा गरिएको संघर्ष समितिका अध्यक्ष तथा स्वास्थ्यकर्मी गोपाल उपाध्यायले बताए । सरकारले घोषणा गरेअनुसार स्वास्थ्यकर्मीहरुले अझैसम्म जोखिम भत्ता पाउन नसकेको उनको भनाइ छ ।
बिहीबार विज्ञप्ती जारी गर्दै संघर्ष समितिले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । कार्यक्रमअनुुसार असार १७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म २ घण्टा भीम अस्पतालको ओपिडी सेवा बन्द गर्ने, १८ गते अस्पताल परिसरमा सम्पूर्ण कर्मचारी धर्नामा बसी दबाब दिने, १९ गते बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा ओपिडी सेवा बन्द गर्ने, २० गतेदेखि ओपडी सेवा पूर्ण रुपमा बन्द गर्ने कार्यक्रम रहेको समितिका सचिव जनकराज पन्तले जानकारी दिए । संघर्ष र आन्दोलनका सम्पूर्ण गतिविधि र प्रगतिबारे जानकारी गराउन दैनिक पत्रकार सम्मेलन गरिने उनले बताए ।
आर्थिक वर्षको अन्तिम महिना सकिनै लाग्दा समेत कोरोना जोखिम भत्ता उपलब्ध गराउन कुनै किसिमको तदारुकता नदेखिएकाले भीम अस्पताल (कोरोना अस्पताल) मा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी विगत १० दिनदेखि विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको संघर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायले बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसँग भेटघाट छलफल, प्रदेश सरकार, प्रदेश स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको तथा भीम अस्पताल विकास समिति, अस्पताल प्रशासन लगायत निकायसँग विभिन्न चरणमा सम्वाद गर्दै पत्रकार सम्मेलन लगायतका कार्यक्रम गरिसकिएको उपाध्यायले बताए । ‘अस्पताल प्रशासनलाई दिएको तीनदिने अल्टिमेटमको समय सकिने भएकाले बिहीबार बेलुकी ४ बजे पुनः मेडिकल सुपरीटेण्डेण्टज्यूसँग हाम्रो संघर्ष समितिले भेट गरी यसबारे कुनै उल्लेख्य प्रगति हुन नसकेको र आन्दोलनप्रति पनि सकारात्मक जवाफ पाउन नसकिएकाले स्वास्थ्यकर्मीहरुको न्यायको लागि राज्यले घोषणा गरेर पनि नदिएको जोखिम भत्ता प्राप्त गर्ने उद्देश्यका लागि विभिन्न संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य भएका छौं । यसबाट पर्न जाने आम नागरिक र बिरामीको असुविधाका लागि हामी क्षमापार्थी छौं, ’उपाध्यायले भने ।
संघर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायकाअनुसार भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी छ ।
भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्तावापतको रकम पाएका छैनन् । अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतका स्वास्थ्यकर्मीले गत असार ७ गते संघर्ष समिति बनाएर प्रशासन कार्यालय र सरकारसँग भत्ता पाउनुपर्ने माग गर्दै आएका छन् । तर अझैसम्म मागको सुनुवाई हुन सकेको छैन ।
अस्पताल प्रशासनले भने स्वास्थ्यकर्मीले पाउनुपर्ने कोरोना जोखिम भत्ताका लागि मन्त्रालयमा निरन्तर पहल भइरहेको बताएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij