२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

सामूदायिक क्याम्पसमा ‘मधेशी विद्यार्थी छात्रवृत्ति’ थप्नुपर्ने माग

बिहिवार , आषाढ १६, २०७९

भैरहवा, १६ असार । 
नेपालको संविधानको सम्मान गर्दै तत्काल ‘मधेशी विद्यार्थी छात्रवृत्ति’ पनि थप्नुपर्ने माग राख्दै नेता, मानव अधिकारकर्मी, समाजसेवी तथा विद्यार्थीहरुले ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले बिहीबार लुम्बिनी प्रदेश सरकारका शिक्षा, युवा, विज्ञान तथा खेलकुद मन्त्री वसीउद्दीन खाँलाई ज्ञापनपत्र बुझाउँदै राज्यमा पछि परेका समुदाय वा वर्गलाई राज्यको मूलधारमा ल्याउन नेपालको संविधानले नै समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था गरेकाले मधेशी विद्यार्थीहरुलाई छात्रवृत्तिबाट वञ्चित गर्नु अन्यायपूर्ण कार्य भएको गुनासो गरेका छन् ।

शिक्षामा तुलनात्मक रुपमा पछाडि परेका मधेशी समुदायका विद्यार्थीहरुलाई लुम्बिनी प्रदेशको सामूदायिक क्याम्पसमा छात्रवृत्तिबाट वञ्चित गर्नु सिंगो मधेशी समुदायका विद्यार्थीहरुको विभेद भएको युवा नेता महेन्द्र गुप्ता (प्रशान्त)ले बताए ।

‘शिक्षा, युवा, विज्ञान तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेशद्वारा गत असार १३ गते प्रकाशित सूचनामा आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रमअनुसार लुम्बिनी प्रदेश अन्तर्गतका सामूदायिक क्याम्पसहरुमा स्नातक वा स्नात्तकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्ति गराउने कार्यक्रम रहेकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सम्बन्धित सामूदायिक क्याम्पसले छात्रवृत्ति प्रदान गर्ने आधार र प्रमाण खुल्ने आवश्यक कागजातसहित छात्रवृत्ति माग गर्न सूचना प्रकाशित गर्दा मधेशी विद्यार्थी छात्रवृत्ति नराखिएकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, ’ज्ञापनपत्रमा उल्लेख छ ।

‘संविधानको धारा ३८ उपधारा (४) धारा ४०, धारा ४२ उपधारा (१)ले समानुपातिक समावेशी सिद्वान्त र धारा उपधारा (३) को प्रतिबन्धात्मक वाक्यांशले पछाडि पारिएका वर्ग, समुदायलाई विशेष व्यवस्था अवलम्बन गनु भन्ने व्यवस्था रहेको छ, ’ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्र बुझेपछि मन्त्री खाँले मन्त्रालयबाट त्रुटी भएको बताए । ज्ञापनपत्र बुझेपछि छात्रवृत्तिसम्बन्धमा आफ्नो समेत ध्यानाकर्षण भएको उनले बताए । उनले जायज माग सम्बोधन गर्न आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । 

ज्ञापनपत्र बुझाउन युवा नेता महेन्द्र गुप्ता (प्रशान्त), मानव अधिकारकर्मी अग्नि शक्ति यादव, मधेशी विद्यार्थी समाज, बुटवलका दिपेन्द्र कुर्मी चौधरी, नमो बुद्ध सोसाइटीका विकास यादव, मधेशी विद्यार्थी नेता पंकज दुवेसहित विद्यार्थीहरु मन्त्रालय पुगेका थिए ।