बुटवल, १४ असार ।
महिलाहरुमाथि हुने हिंसा अन्त्यका लागि सबै लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले सिमान्तकृत समुदायका महिलाहरुमाथि अन्य समुदाय भन्दा बढी हिंसा हुने गरेको बताउँदै यसको अन्त्यको लागि सबैको सहकार्य जरुरी रहेको बताए ।
मानव अधिकारको लागि महिला, एकल महिला समूह रुपन्देहीको आयोजनामा सिमान्तकृत वर्गका महिलाहरुमाथि भइरहेको हिंसासम्बन्धि छलफलमा बोल्ने वक्ताहरुले महिला हिंसा अन्त्यका लागि प्रहरी, प्रशासन, नागरिक समाज तथा व्यक्तिहरु लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कुनै समूहमाथि हुने महिला हिंसालाई सबैको साझा समस्याको रुपमा लिएर आवाज उठाउनुपर्ने बताए । उनले पछिल्लो समयमा महिला हिंसाका घटना घटिरहेको बताउँदै समाजमा समस्या यथावत रहेकोले समस्या समाधानमा लाग्नुपर्ने बताए । उनले प्रहरी प्रशासन, पत्रकार, नागरिक समाजको सहकार्य आवश्यक रहेको बताउँदै सबैको सहकार्यले घटनाम कमी आइरहेको बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सामाजिक महाशाखा प्रमुख शारदा बेल्बासेले सबै समुदायका समस्याहरुलाई सबैले आफ्नो समस्या ठानेर आवाज उठाउन आग्रह गरिन् । उनले सही सूचनाको अभावमा न्याय सम्पादक सहज नभएको बताउँदै घटनाको बारेमा प्रहरी तथा न्यायीक क्षेत्रलाई सही सूचना दिन आग्रह गरे ।
कार्यक्रममा वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रमुख पुष्कर सिंह ऐरीले निवेदकले बयान फेर्दा न्याय सम्पादनमा समस्या भएको बताए । उनले पीडितले पहिले निवेदन दिने र अदालतसम्म पुर्याउदा घरमै कुरा मिलेर बयान फेरिदा समस्या भएको बताए । उनले महिला हिंसाविरुद्धका मुद्दा दर्ता नहुने भन्ने नहुने भएकोले कुनै हिंसा भोगेमा मुद्दा दर्ता गर्न आग्रह गरे ।
कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी अध्यक्ष अमृता अनमोलले विपन्न सिमान्तकृत महिलामा लैंगिक हिंसा र समाधानका उपाय विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले कार्यपत्र प्रस्तुत गर्दै पछिल्लो समयमा आएका घटनाको अवस्था, स्थानीय तथा लुम्बिनी प्रदेश सरकारले हिंसाविरुद्ध गरेका कामहरू र पछिल्लो अवस्थाको बारेमा जानकारी गराएकी थिइन् ।
कार्यक्रममा मानव अधिकारको लागि महिला, एकल महिला समूह लुम्बिनी प्रदेश अध्यक्ष जानुका घिमिरे, एकल महिला सीता आचार्य, सीता थापा, दलित महिला संघ रुपन्देही अध्यक्ष मनु खड्का लगायतले बोलेका थिए ।
मानव अधिकारको लागि महिला, एकल महिला समूह रुपन्देही अध्यक्ष राधिका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रुपन्देही सचिव रिता सेनले गरेकी थिइन् ।