भैरहवा, १२ असार ।
मदन भण्डारी मेमोरियल अण्डर १८ इमरजिंङ स्टार क्रिकेट टुर्नामेन्ट आइतबारदेखि भैरहवामा सुरु भएको छ । सिद्धार्थ रंगशालामा सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका ४ समूह सहभागी छन् ।
प्रतियोगिताको मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले सबैका लागि खेल भन्ने नारासहित एकेडेमीले किशोरहरुलाई व्यवसायिक खेलमा लगाउन प्रतियोगिता आयोजना गरेको बताए । उनले खेल गतिवधि निरन्तर भए मात्रै खेलाडीको कौशल बढ्ने भन्दै यसमा एकेडेमी निरन्तर लाग्ने बताए ।
कार्यक्रममा मदन भण्डारी स्पोटर्स एकेडेमीका सदस्य डा. शुभाष चौधरीले कुलतबाट जोगाउन र स्वस्थ बन्न पनि खेल आवश्यक रहेको बताए ।
एकेडेमीका सदस्य तथा अन्तर्राष्ट्रिय अम्पायर समिर खानले खेलका नियमलाई जीवनपद्दतिमा पनि ढाल्न आग्रह गरे । अर्का सदस्य मदन अधिकारीले क्रिकेट खेलको लोकप्रियता, व्यवसायिक खेल र त्यसबाट हुन सक्ने फाइदाका बारेमा बताए ।
प्रतियोगिता संयोजक तथा मदन भण्डारी स्पोटर्स एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले नयाँ खेलाडीहरुलाई व्यवसायिक बनाउन उमेर समूह अनुसारका प्रतियोगिता गराएको बताए । उनले खेलकुदबाट व्यक्तिगत र देशको नाम उचो राख्न र आयआर्जन समेत गर्न समेत सकिने बताए ।
प्रतियोगिताका लागि रुपन्देही र दाङमा ट्यान्लेन्ट हन्ट आयोजना गरी ४ समूह छनोट गरिएको थियो । १ सय ७० जना खेलाडीबाट छनोट गरिएका ५६ खेलाडीलाई ४ समूहमा विभाजन गरी खेल खेलाइएको खेल संयोजक गौचनले बताए ।
लिगका आधारमा खेलाइएको खेलमा आइतबार मदन भण्डारी स्पोटर्स क्लब रेड र मदन भण्डारी स्पोटर्स एल्लो क्रमशः प्रथम र द्वितीय भएका छन् । आइतबारदेखि सुरु भएको खेल तीन दिन अर्थात मंगलबारसम्म सञ्चालन हुनेछ ।