
शुक्रवार , आषाढ १०, २०७९
भैरहवा, १० असार ।
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नगर कमिटी सिद्धार्थनगर, रुपन्देहीले विद्युत कटौतीको समस्यालाई दिगो रुपमा समाधान गर्न माग गरेको छ । भैरहवामा अनियमित रुपमा पूर्व सूचना नदिइ पटकपटक विद्युत कटौती भएकोले यसप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै अनेरास्ववियुले बिहीबार नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
वितरण केन्द्रका प्रमुख अवधेश दुवेलाई ध्यानाकर्षण पत्र बुझाउँदै अनेरास्ववियुले अनियमित विद्युत कटौती र लो भोल्टेजका कारण भैरहवाबासीको जनजीवनमा प्रभाव परेको जनाएको छ । अनेरास्ववियु नगर कमिटीका अध्यक्ष सुनिल खनालले अनियमित विद्युत कटौतीले प्रत्यक्ष प्रभाव विद्यार्थीहरुलाई परेकाले आन्दोलनका लागि आफूहरुलाई बाध्य बनाइएको बताए । अध्यक्ष खनालले भने, ‘आगामी दिनमा जनता र विद्यार्थीलाई अनावश्यक दुःख दिने काम भयो भने अनेरास्ववियु सशक्त प्रतिवादको साथ आन्दोलन गर्ने यसै ध्यानार्षण पत्रमार्फत सम्बन्धित निकायलाई जानकारी गराउँदछौं ।’
ध्यानाकर्षण बुझाउन अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसी, रुपन्देही जिल्ला कमिटी सदस्य सागर न्यौपाने, दीक्षा केसी, विवेक भण्डारी, मनिषा कार्की, सिद्धार्थनगर कमिटी अध्यक्ष सुनिल खनाल, नगर सचिवालय सदस्य कमल पोखरेल लगायत विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र पुगेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij