२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

विश्व रक्तदाता दिवसमा रक्तदातालाई सम्मान

मंगलवार , जेठ ३१, २०७९

बुटवल, ३१ जेठ ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्तसंचार सेवा केन्द्र बुटवलले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदाता सम्मान कार्यक्रम गरेर मनाएको छ । १४ जुनलाई विश्वभर नै रक्तदाता दिवसका रुपमा मनाइँदै आएको छ । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान अभियान चलाएर बुटवलको परिचय बनेको बताए । रक्तदानबारे जनचेतनाको अझै पनि कमी देखिएको भन्दै यसतर्फ ध्यान दिनुपर्ने उनले बताए । 

कार्यक्रममा ५० पटक भन्दा बढी रक्तदान गर्ने ७ जना दातालाई स्वर्ण, प्रशंसापत्रबाट सम्मान गरिएको थियो । त्यसै गरी २५ पटक भन्दा बढि रक्तदान गर्ने २९ जना दाताहरुलाई रजत, प्रशंसापत्र तथा ४० जनालाई प्रशंसापत्रबाट पुरस्कृत गरिएको थियो ।

कार्यक्रमका संयोजक तथा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले निशुल्क रक्तदान अबको अभियान भएको बताए । धेरै स्थानीय र प्रदेश सरकारबाट घोषणा गरिसकेको भन्दै बिरामीले निःशुल्क रगत पाउने वातावरण सृजना गर्नुपर्ने उनले बताए । सन २००४ बाट दिवस मनाउन थालिएको उनले बताए । अन्तर्राष्ट्रिय प्रचलन सुरुवातलाई बुटवलबाट पनि सम्मान कार्यक्रम चलाउँदै आएको उनले बताए । 

कार्यक्रममा सल्लाहकार बिमल बहादुर शाक्यले प्रत्येक वर्ष आयोजना गरिने सम्मान कार्यक्रमबाट प्रेरणा मिल्ने बताए ।रक्तदाताहरुलाई प्रोत्साहन गर्ने, रक्तदान सम्बन्धि संगठनहरुलाई संगठित र विस्तार गर्ने रुपमा चलाइँदै आएको बताए । दुर्लभ रक्तदाताहरुको समेत कमी नरहेको उनले बताए । देशको कुल जनसंख्याको २ प्रतिशतले रक्तदान गरे पनि पर्याप्त हुने भन्दै यसको लागि सचेतना अभियान चलाउन जरुरी रहेको उनले बताए ।  

कार्यक्रममा केन्द्रका सभापति प्रेमलाल उदास, केन्द्रका मन्त्री आर मोहम्मद खाँ, बुटवलका संयोजक कृष्ण पंगेनी, उपसभापति दीपक क्षेत्री न्यौपाने, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय उपाध्यक्ष लेखनाथ भण्डारी, मणिग्राम शाखाका सभापति टेक बहादुर थापाले निःशुल्क रगतलाई सफल बनाउने गरी स्थानीय सरकार अघि बढ्न सुझाव दिए ।