
मंगलवार , जेठ २४, २०७९
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले तिनाउ नदी किनारमा जोखिममा रहेका बस्तीक्षेत्रको अवलोकन गरेका छन् ।
तिनाउ नदी किनार क्षेत्रमा रहेका बस्तीको अवस्थाबारे जानकारी लिन पाण्डे मंगलबार बिहानै नदी किनार क्षेत्रमा पुगेका थिए ।
बर्षायाममा नदीमा आउने बाढीका कारण बस्ती जोखिममा पर्ने भएकाले त्यसको जोखिम न्यूनीकरण गर्दै क्षति हुन नदिनका लागि नगरपालिकाले तत्काल योजना बनाएर कार्यान्वयन गर्ने उनले बताए ।
‘बर्षाभन्दा अगाडि नदीलाई सही बाटोमा हिड्ने स्थिति बनाउनका लागि लागि योजना बनाउने छौं, तिनाउ दानव नदीको कारणले हुनसक्ने जोखिम न्यूनीकरण गर्न र यसको दीर्घकालीन समाधान गर्नका लागि ठूलो बजेटको आवश्यकता पर्छ, त्यसका लागि पनि पहल गर्नेछौं,-उनले स्थानीयसँग भने-‘नगरले आजै नै बैठक बसेर यसको समाधानको काम थाल्छ, जोखिम कम गर्न र सकेसम्म क्षति हुन नदिनका लागि प्रयास गर्नेछौं ।’
हिउँदमा सुख्खा हुने बुटवलको तिनाउ नदी बर्खायाममा डरलाग्दो गरी उर्लिएर आउँदा तिनाउ नदी किनारका बस्ती जोखिममा पर्छन् । पाल्पाको माडीबाट शुरु भएको तिनाउमा ३० वटा भन्दा बढी खहरे खोला मिसिएर बुटवल आइपुग्दा नदी किनारका बस्ती नै जोखिममा पार्ने गरी बाढी आउँछ ।
मनसुन सक्रिय हुन केही साता मात्रै बाँकी रहँदा तिनाउ नदी किनारमा रहेका जोखिम क्षेत्रका बासिन्दाले तिनाउको बाढीबाट जोगाउन बुटवल उपमहानगरपालिकाले नदीको बीचका ढिस्को हटाएर नदीकै वास्तविक वहाव क्षेत्र खुला गरिदिनुपर्ने पवित्रनगर टोल विकास समितिका सचिव सुनिल गौतम बताउँछन् ।
विगतका बर्खामा भएकोे क्षति यसपटक नदोहोर्याउनका लागि बुटवल उपमहानगरपालिकाले सुरक्षाको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।
तिनाउ टोल विकास समितिका अध्यक्ष हिमलाल पाण्डेलगायतले आउँदो बर्षाअघि नै समस्या समाधान गरेर स्थानीयका घरबस्ती जोगाउनुपर्ने माग नगरप्रमुखसामु राखेका थिए ।
बुटवलको तिनाउ नदी किनारका बिनापाते, हात्तीसुँढ, तिनाउ नगर, मजुवा, बुद्धनगर, प्रगतिनगर नदी उकास क्षेत्र हुन् । ३० हजारभन्दा बढी जनसंख्या रहेका यी बस्ती तिनाउमा आउने बाढीको उच्च जोखिमयुक्त क्षेत्र हुन् । बर्खामा चुरेको गेग्रेटो र ढुंगासहित तिनाउमा आउने बाढीले यी बस्ती जोखिममा पर्छन् ।
२०५९ सालदेखि तिनाउ नदी किनारमा बस्ती बस्न थालेयता नदी अतिक्रमण बढेको छ भने अतिक्रमणसँगै जोखिम पनि बढ्दै गएको छ । जसका कारण तिनाउ नदीको वहाव क्षेत्र अधिकांश स्थानमा ३ सय मिटर मात्रै छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij