शुक्रवार , कार्तिक २१, २०८२
काठमाडौं, २१ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयपछि देशको वागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हाल्ने दाबी गर्नुभएको छ ।
चितवनको सौराहामा शुक्रवारबाट शुरु भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले यस्तो दाबी गर्नुभएको हो । उहाँले संघीय निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अब सबै निर्वाचनमा केन्द्रिय हुनुपर्ने बताउनु भयो ।
अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकेको छ । अब घनिभुत ढंगबाट निर्वाचनको तयारी गर्नुपर्ने वाग्लेले बताउनु भयो । विचार, योजना र सिद्धान्तमा टेकेर जनतालाई प्रेरित पार्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संघीय निर्वाचन घोषणा भइसकेको छ । त्यसको तयारी पनि हामीले अब घनिभुत ढंगले गर्नुपर्नेछ । १ सय २० दिन भन्दा कम छ ।
त्यसकै सेरोफेरोमा निर्वाचनको तयारीका लागि पनि विचार, योजना र सिद्धान्तमै टेकेर हामीले जनतालाई प्रेरित पार्नुछ, प्रेरणा दिनुछ । अबको केही समयपछि देशको कालखण्डको वागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले नै सम्हाल्ने छ ।’
उहाँले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारीमा एकजुट भएर लाग्न पार्टीका नेता, कार्यकताहरुलाई निर्देशन दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij