२०८२, श्रावण २६ गते

Aug 11 2025 | २०८२, श्रावण २६ गते

तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका खाँण विजयी

शुक्रवार , जेठ १३, २०७९

भैरहवा, १३ जेठ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख (मेयर)मा नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र) को तर्फबाट गठबन्धनका उम्मेदवार रामकृष्ण खाँण विजयी भएका छन् । उनी २४ हजार ३ सय ९६ मत प्राप्त गरी विजयी भएका हुन् । खाँणका निकटतम प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहन चापागाईले २३ हजार ६ सय ३१ मत प्राप्त गरेका छन् । खाँण नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ समेत हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी तिलोत्तमाको मेयरका उम्मेदवार भइ एमालेका बासुदेव घिमिरेसँग पराजित भएका थिए ।

तिलोत्तमाको उपप्रमुख (उपमेयर)मा भने एमालेकी जगेश्वरदेवी चौधरी विजयी भएकी छन् । उनी २३ हजार ८६ मत प्राप्त गरी विजयी भएकी हुन् । निकटतम प्रतिष्पर्धी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेलाई ११ हजार ५ सय ४० मतअन्तरले पराजित गर्दै चौधरी विजयी भएकी हुन् । पाण्डेले ११ हजार ५ सय ४६ मत प्राप्त गरेका छन् । चौधरी २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि तिलोत्तमाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् । उनी एमाले रुपन्देहीको उपाध्यक्ष समेत हुन् ।

त्यस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा एमालेका फर्सुराम गिरी, २ मा कांग्रेसका डिल बहादुर भट्टराई, ३ मा कांग्रेसका कल्याण प्रसाद पौडेल, ४ मा एमालेका हरी बहादुर क्षेत्री, ५ मा कांग्रेसका रमेश डुम्रे, ६ मा कांग्रेसकै गणेश पाठक, ७ मा एमालेका देवी प्रसाद पंगेनी, ८ मा एमालकै कृष्ण प्रसाद पौडेल, ९ मा कांग्रेसका ध्रुव न्यौपाने, १० मा एमालेका गोपाल प्रसाद घिमिरे, ११ मा एमालेका विष्णु बहादुर बराल क्षेत्री, १२ मा एमालेकै सहदेव थारु, १३ मा कांग्रेसका नारायण ढकाल, १४ मा कांग्रेसकै आश्विन पौडेल, १५ मा एमालेका खेमराज गुरुङ, १६ मा कांग्रेसका झविलाल भुसाल र १७ मा कांग्रेसका दान बहादुर चौधरी वडाअध्यक्षमा निर्वाचित भएका छन् ।