२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

भैरहवामा अन्य दलको दौडधुप एमालेसँग सम्मानजनक पराजयका लागि मात्र !

शुक्रवार , बैशाख २३, २०७९

घनश्याम भुसालको संसदीय सम्पर्क कार्यालय, क्षेत्र नंम्बर ३, रूपन्देहीका कार्यालय प्रमुख हुन् मनोजकुमार रिजाल । भैरहवाका स्थायी बासिन्दा रिजाल एमालेका नेता घनश्याम भुसालसँग जोडिनु अघि विकास परियोजनामा परामर्शदाताका रूपमा काम गर्दथे । यसपूर्व उनी राजनीतिक रूपमा नेकपा (एमाले) रूपन्देही काठमाडौ सम्पर्क मञ्चको सचिव भइ पार्टी काममा आबद्ध थिए । रिजाल समाजशास्त्रीका रूपमा समाजमा देखिइरहेको परिवर्तन, युवाको महत्वाकांक्षा व्यवस्थापनमा भइरहेको संकट र समाजमा त्यसको सम्भाव्य असर र त्यसले सिर्जना गरेको दबाव, बदलिँदो सामाजिक मनोविज्ञान, स्थानीय नेतृत्वको समाजिक प्रवृत्ति र व्यक्तिचेत साथै भैरहवाका प्रभावशाली समुहको सामाजिक हैसियत नियन्त्रण सञ्जालको अध्ययनमा रुची राख्ने अध्येता पनि हुन् । पूर्वमन्त्री समेत रहेका भुसालको जनसम्पर्कलाई व्यवस्थित गर्ने जिम्मेवारीमा रहेका रिजालले माननीय भुसालको प्रत्यक्ष निर्देशन र प्रत्यक्ष सरोकारमा रहनेगरी यस क्षेत्रको विकासमा पनि प्रक्रियागत, नीतिगत, आवश्यक बजेट व्यवस्थापनमा सहजीकरण गर्दै आएका छन् । विश्व बैंकंको परियोजनामा सामाजिक सुरक्षा परामर्शदाताका रूपमा कार्य गरेका रिजालसँग यस स्थानीय तहको निर्वाचनमा खबरपात्रोले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ ।

समाजशास्त्रीका रूपमा यस निर्वाचनबारे तपाईको विश्लेषण के छ ?

भैरहवाको सामाजिक बनोट, यसको भुगोल र अन्तरदेशीय पारिवारिक सम्बन्ध, वारीपारीका व्यापारिक सम्बन्ध, राजनीतिक साथै अधिकानूनी व्यापार सञ्चालनका लागि बने/बनाइएका सञ्जालका कारण रूपन्देहीका अन्य पालिकाका तुलनामा यस क्षेत्रको निर्वाचन जटिल हुने गरेको मैले देखेको छु । विशेष गरी भैरहवाको स्थापनाकालदेखि नै यस क्षेत्रमा आइ बसोबास गर्ने बर्मेली समूह नै यहाँको प्रमुख र शक्तिशाली सामाजिक वर्गका रूपमा रहेको छ । यो समूह परम्परागत रूपमा नै भैरहवा क्षेत्रमा बसोबास गर्ने यादव, मुस्लिम र आर्थिक रूपमा सम्पन्न रैथाने समूहलाई आफ्नो प्रभाव क्षेत्रमा राख्न सफल छ । यस क्षेत्रको थप विशेषता भनेको नेपालको नागरिकता भएका तर व्यापार व्यवसायका लागि लामो समयदेखि भारततर्फ बसोवास गर्ने नेपालीहरूको समूह पनि उल्लेख्य रहनुले निर्वाचनले थप जटिल बनेको देखिन्छ । 

तपाईँ आफै एमालेसँग जोडिएको व्यक्तिका रूपमा निर्वाचनलाई कसरी हेरिरहनुभएको छ ?

सिद्धार्थनगर नगरपालिकाको स्थापना र यसको विकाससँग एमालेको प्रत्यक्ष संलग्नताबारे कसैसँग प्रष्टीकरण दिइरहनुपर्छ जस्तो मलाई लाग्दैन । एमाले भैरहवाका सन्दर्भमा जति जिम्मेवार हिजोका दिनमा थियो, आजका दिनमा थप जिम्मेवार भएको कुरामा कसैले शंका गर्छ भन्ने नै हामीले सोच्दैनौं । भैरहवाको समाजमा रहेका विभिन्न प्रभावशाली समूहमा हाम्रो पार्टीको प्रभाव अन्य पार्टी भन्दा कुनै अर्थमा कम छैन । यस निर्वाचनका सन्दर्भमा प्रभावशाली समुहको जोडबल र हाम्रो पार्टीका हामी प्रतिबद्ध कार्यकर्ता र मतदाताको समूह नै स्वतस्फूर्त रूपमा घरदैलो अभियानदेखि मतदाता शिक्षासम्म परिचालित भइरहेको तथ्य तपाईले देख्नुभएकै छ । साथै २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा नेकपा (एमाले) ले गरेका ६५ बुँदे प्रतिवद्धतामध्ये ५५ बुँदा पुरा गरेको तथ्य पनि साथमा नै छ  । सडकपूर्वाधारमा हामीले आमुल क्रान्ति नै गरेका छौं । एकपटक भैरहवा आएको जो कोही आगन्तुकको मुखबाट तपाईँले भैरहवाको पूर्वाधारबारे प्रशंसाबाहेक केही सुनेको प्रमाण छ भने भन्न सक्नुहुन्छ । पार्टीले भैरहवाको विकासमा आरम्भ गरेको कार्य नै एमालेका उम्मेदवारको विजयका लागि पर्याप्त होइन र ?


उम्मेदवारका रूपमा दावी गरिरहेका नेताबीचमा भएको मनमुटावले एमालेको चुनावी अभियान कमजोर भएको चर्चा छ नी ?

यो चर्चा चलाइनु नै एमालेको आन्तरिक जीवनको पद्दतिलाई बुझ्न नसकेको अवस्थाको प्रकटन हो र सर्वथा गलत हो । स्वभाविक रूपमा पार्टीका नेताहरूबीच पार्टीको नीतिले नै आन्तरिक प्रतिष्पर्धा हुने अवस्थालाई नियमन र व्यवस्थित गरेको छ । नगरप्रमुखका रूपमा दावी गर्ने हाम्रा पार्टीका ८ जना नेताहरु नै उक्त पदका लागि योग्य हुनुहुन्थ्यो । तर पार्टीले तुलनात्मक रूपमा लामो समय पार्टीमा आबद्ध भएर आफ्नो विशिष्ठताअनुसार समाजका भिन्नभिन्न क्षेत्रमा योगदान गरेका कमरेडहरूमध्येबाट एकजना कमरेडलाई उम्मेदवार बनाउने निर्णय गरेको हो भन्ने सबैलाई थाहा भएकै विषय हो । यसमा थप विवाद रहेको छैन । केही प्रक्रियागत, छनौटको विधि र पारदर्शीताका कुराहरूमा प्रश्न उठेका हुन सक्लान् । तर ती समस्याहरू पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालको पहलमा हाललाई समाधान भएको छ । हाम्रो पार्टीमा पार्टीभित्र कसैले पनि उम्मेदवार बनेका डा. रामप्रसाद बस्यालबारे कुनै प्रश्न उठाएका छैनन् भन्नेमा विश्वस्त बनाउन चाहन्छौं ।

भैरहवाको विकासमा ६५ बुँदे भन्नुभयो, तर भैरहवाको मूल समस्या त जहाँको त्यही नै छ नि ?

भैरहवाको मूल समस्या भन्नाले कुन समस्या भन्ने ? भैरहवामा अतिवृष्टि नै भए पनि १५ मिनेटभित्रै सबै पानी निकास भइसक्ने तहमा निकासको व्यवस्थापन भएको छ, जो तराईका सबै सहरको आम समस्या हो । बाटोघाटो नेपालमा कुनै सहरले भैरहवासँग दाँजिन नसक्ने तहमा विकास र निर्माण भएको छ । सामाजिक विकासका सन्दर्भमा भएका कामहरूको प्रभावकारिताका दृष्टिले, स्वास्थ्य क्षेत्रमा भएका सुधारका दृष्टिले, कृषि क्षेत्रमा भएको लगानीका दृष्टिले, शिक्षामा भएको भौतिक पूर्वाधारको सुधारका दृष्टिले भैरहवाका अधिकांश समस्या समाधान भएका छन् भन्ने नै हाम्रो पार्टीको दावी हो । 

यी समस्या भन्दा भिन्न फोहोरमैलाको व्यवस्थापन नै अहिलेको भैरहवाको प्रमुख समस्या हो । यसमा के भयो भन्ने प्रश्नबारे तपाईँको धारणा जान्न खोजेको ।

(हाहाहाहाह) सही कुरा गर्नुभयो । यो प्रक्रियामा नै रहेको काम भएका कारण हाम्रो पार्टीले यसलाई समस्याका रूपमा लिएको छैन । हाम्रो पार्टी २०७४ सालमा सिद्धार्थनगरको सरकार सञ्चालनको नेतृत्वमा आएपछि नै यो समस्या समाधानका लािग निरन्तर प्रयास गरिरहेकै हो । समस्या समाधानका लागि ओमसतियाको पट्खौलीमा खरिद जग्गामा स्थानीय क्षेत्रमा विवाद हुँदा ३२ करोड बजेट फ्रिज भएको अवस्था सबैमा जानकारी छ । यो एमाले भन्दा पनि भैरहवा र ओमसतियामा एमालेका विरुद्धमा रहेका राजनीतिक दलको दाउपेचका कारण असफल भएको तथ्य अन्य दलले स्वीकार गरे भने मात्र आगामी दिनमा उचित निकास निकाल्न सकिन्छ भन्ने विश्वास हाम्रो पार्टीले लिएको छ । यस सम्बन्धमा माननीय घनश्याम भुसालको पहलमा राजनीतिक तहमा सिनपा र तिलोत्तमाको लागि साझा फोहोर प्रशोधन केन्द्र बनाउने अनौपचारिक समझदारी गरी तिलोत्तमा १३ मा व्यवस्थापन गर्न खोजिएको पनि हो, तर स्थानीयको विरोधका कारण यो कार्य अघि नै बढ्न नसकेको अवस्था हो ।

भैरहवाका लागि यो प्रमुख समस्या मान्दै गर्दा तपाईँले यसको विकल्प के देख्नुभएको छ ? 

हामी विश्वस्त छौं, यस स्थानीय तहको निर्वाचनपछि ओमसतियामा एमालेको पूर्ण बहुमत रहेको स्थानीय सरकार बन्नेछ । यसले रोकिएको निर्माण कार्य अघि बढाउने अवस्थाको निर्माण हुनेछ भने आवश्यक बजेटको व्यवस्थापनका लागि हाम्रो माननीय घनश्याम भुसाल पनि गम्भीर हुनुहुन्छ । 

आशा गरौं, ओमसतियामा हाम्रो पार्टीका अध्यक्ष पदका उम्मेदार मंजित यादवजीले गाउँपालिका अध्यक्षमा र हाम्रो पार्टीबाट नै वडाअध्यक्षमा प्रतिनिधि विजयी हुनुहुनेछ । म यो कुरा यस कारण पनि भनिरहेको छु कि यी दुई स्थानीय तहमा फरक फरक राजनीतिक पार्टीको स्थानीय सरकार भएका कारण नै विगतमा फोहोर प्रशोधन केन्द्र निर्माणमा असमझदारी सिर्जना भएको हो । अबको निर्वाचनपछि ओमसतियामा एमालेको नै स्थानीय सरकार बन्ने निश्चित भएका हुनाले भैरहवामा पनि डा. रामप्रसाद बस्यालको विजय बिना यो कार्य अघि बढ्न सम्भव छैन । तसर्थ पनि खबरपात्रोमार्फत् सबैलाई भन्न चाहन्छु, “फोहोर व्यवस्थापनमा देखिएको यस समस्यालाई समाधान गर्नका लागि पनि सिद्धार्थनगरको प्रमुखसहित बहुमत कार्यपालिका सदस्यमा एमालेका उमेदवारहरूको विजयलाई नगरबासीले ग्यारेण्टी गर्नेछन् ।”

एमालेको यो दावीका बीच अन्य पार्टीको अवस्थालाई कसरी हेरिरहनुभएको छ ? विशेष गरी प्रतिष्पर्धाका सन्दर्भमा ?

सिद्धार्थनगरमा राजनीतिक रूपमा क्रियाशील र निरन्तर रहेका राजनीतिक दलहरूले गर्ने दावीलाई हामीले अन्यथा भन्ने कुरा पनि भएन । लोकतन्त्रमा सबैखाले दावी गर्न कानूनले नै निर्दिष्ट गरेका विषयबाहेक अन्यका हकमा पाइन्छ र पाउनु पर्छ नै । तर गरिएका दावी सही हुन् वा होइनन् भन्ने कुरा त वस्तुगत अवस्था र धरातलीय यथार्थले नै प्रमाणित गर्ने हो नि । एउटा सत्य कुरा चाहिँ के हो भने, तपाईले जुनसुकै राजनीतिक दलका नेता वा उम्मेदवारलाई सोध्नुहोस्, उहाँहरूको एउटै उत्तर हुनेछ, हाम्रो प्रतिष्पर्धा कांग्रेस, राप्रपा, जसपा वा अन्यसँग नभइ एमालेसँग नै हो । 

उहाँहरूको यस दावीको एउटा रोचक पक्ष भनेको सिद्धार्थनगरमा एमाले नै सबैभन्दा बढी जनमत भएको पार्टी हो भन्ने नै हो । उहाँहरूले जे दावी गर्दैगर्दा पनि हाम्रो पार्टीको दावी चाहिँ के हो भने, भैरहवामा एमालेको प्रतिस्पर्धा कसैसँग छैन । कम्तीमा ९ वटा वडाहरूमा हामी विजयी नै छौँ, यो निर्वाचनपछि घोषणा हुनेछ भने अबका ५ दिनमा थप ४ वटा वडामा हाम्रो प्रतिष्पर्धात्मक अवस्थालाई हामीले विजयी अवस्थामा ल्याइपुर्याउने छौं भन्ने नै हो । 

तपाईँले गरेको यो दावी सुन्दा र काँग्रेसले निर्वाचनका लागि देखाएको सक्रियता हेर्दा अलिक अस्वभाविक लाग्दैन र ?

अस्वभाविक वा स्वभाविक लाग्नु, यी व्यक्तिगत धारणाका कुरा भए तर तथ्यले हाम्रो पार्टीको दावीलाई पुष्टी नै गर्छ नि । सिनपाको यस निर्वाचनमा देशकै प्रभावशाली पार्टी कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री आफै चिया पसल र पानगुट्खा पसलसम्म पुगेर नमस्कार गर्दै हिड्न किन बाध्य हुनुहुन्छ भन्ने यहाँले विश्लेषण गर्नुहोस् भन्ने मेरो आग्रह छ । एउटा भ्रमपूर्ण सत्य कुरा चाहिँ यो हो कि नगरका मेयर हरिप्रसाद अधिकारी आफ्नो व्यक्तिगत बानी र कार्यशैलीका कारण आलोचित हुनुभयो, तर उहाँको आलोचना गर्ने विभिन्न राजनीतिक दलका कार्यकर्ताहरू नै निर्वाचनका दौरान घरदैलो गर्दा भैरहवामा भएको विकास देखेर बोल्न सकिरहनु भएको छैन् ।

तसर्थ, यस सन्दर्भमा अन्य दलको सक्रियता, चाहे त्यो देशको गृहमन्त्री नै किन नहुन्, यो भनेको एमालेसँगको सम्भावित लज्जाजनक पराजयलाई सम्मानजनक प्रतिष्पर्धाका तहमा ल्याउने प्रयास मात्र हो भन्ने मेरो दावी हो ।

 

एमालेलाई आम मतदाताले पुनः एकपटक किन भोट दिएर विजयी गराउने ?

पहिलो, विगत ५ वर्ष हामीले स्थानीय सरकार सञ्चालन गर्न सफल भयौं, हाम्रा कुनै पनि जनप्रतिनिधि वा उहाँहरू मातहतका कर्मचारी कुनै खालको भ्रष्टाचारको आरोपमा परेको वा पक्राउ भएको तपाईँले देख्न र सुन्न पाउनुभएन । यसले नगरबासीहरूमा एमालेका जनप्रतिनिधि भ्रष्ट छैनन् भन्ने छाप नै छोडेको छ । दोस्रो, हामीले भैरहवाको विकासलाई आधारभूत तहबाट माथि डिपार्चरको अवस्थामा ल्याइपुर्याएका छौं ।

स्वभाविक रूपमा पुनः किन भन्ने पक्षबाट हेर्दा भैरहवामा हामीले आरम्भ गरेका कामहरूमध्ये हाम्रो योजनाभित्र रहेको भैरहवाको अस्तित्वलाई बचाउन यसको क्षेत्रविस्तार गरी उपमहानगरका रूपमा विकास गर्ने योजनालाई मूर्त रूप दिन, विमानस्थल सञ्चालनसँग सिर्जना हुने विभिन्न आर्थिक, सामाजिक, सांस्कृतिक, व्यवसायिक, राजनीतिक सम्भावनाहरूलाई भैरहवा र यहाँका नागरिकको पक्षमा नै हुने गरी नीति निर्माण गर्न र त्यसका लागि दबाब सिर्जना गर्नका लागि आवश्यक पर्ने जनपरिचालनको नेतृत्वका लागि पनि हाम्रो पार्टी नै दोहोरिने कुरामा यहाँका नागरिकहरू सहमत छन् भन्न नै हो ।

अन्तमा, सांसद घनश्याम भुसालसँग जोडिएको हुनाले यस निर्वाचनमा उहाँको भुमिकाबारे केही जानकारी दिनुस् न ?

विशेष गरी पार्टीले उम्मेदार निर्धारण गरेपछि पार्टीभित्र देखिएका क्षणिक असन्तुष्टि मिलाउने कुरामा उहाँको विशेष सक्रियता रह्यो । पार्टीका सबै नेता कार्यकर्ता निर्वाचनको यस अभियानमा एकजुट भएर सहभागी भइरहेको वर्तमान परिदृष्य उहाँकै सक्रियताको उपज हो । यसबाहेक, पार्टीका आन्तरिक तयारी बैठकहरूका रणनीति समीक्षा, नयाँ चरणको कार्यक्रम तयारी, प्रतिनिधिसभा क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने पालिकाहरूमा रहेका एमालेका उम्मेदवारहरूको घरदैलो कार्यक्रमा सहभागीता, कोण सभाहरूलाई सम्बोधन लगायतका काममा उहाँको सक्रियता रहेको छ ।