
बिहिवार , बैशाख ८, २०७९
इलामको कोसेली ललिपप धेरैको रोजाइँमा पर्दछ।
दूधबाट बनेको ललिपप इलाम घुम्न आउने पर्यटकले घर फर्किदा कोसेलीका रुपमा लिएर जाने गर्दछन।
निकै स्वादिलो मिठाइका रुपमा लिइने ललिपप उद्योगबाट धेरै महिलाले रोजगारीसमेत पाएका छन।ललिपपसम्बन्धी उद्योग सञ्चालन गरेर इलामका महिला आत्मनिर्भर मात्र होइन धेरै महिला तथा पुरुषलाई रोजगारीसमेत पाइएको छ। धेरै महिला तथा पुरुष जागिरको खोजीमा कोही नेपालमा नै त कोही रोजगारी नपाएर वैदेशिक रोजगारीमा समेत जाने गर्दछन। इलामकी दीपा गुरुङले धेरै महिलालाई रोजगारी दिएकी छन।
सानो लगानीबाट सुरु गरेको ललिपप उद्योगबाट धेरै महिलालाई उनले रोजगारी दिन सफल भएकी छन। इलाम तिल्केनीकी गुरुङको दैनिकी अहिले निकै व्यस्त छ । आठ वर्ष पहिले उनले स्थापना गरेको ग्रिनसिटी ललिपप उद्योगमा अहिले ४६ महिलाले रोजगारी पाएका छन।बिहान ४ बजेदेखि राति अबेरसम्म उनि काममा नै व्यस्त रहनछीन। उनको उद्योगबाट ललिपप र बम्बैसन बन्ने गर्दछ। इलाममा मात्र सीमित ललिपप र बम्बैसन पछिल्लो समय काठमाडौँसम्म पुग्ने गरेको छ। छ जनाबाट सुरु भएको उनको उद्योगमा अहिले ४६ महिलाले दैनिक काम गर्छन। रु पाँच लाखबाट सुरु भएको उनको उद्योगले अहिले वार्षिक रु ३५ लाखसम्म कमाइ हुँदै आएको छ ।
त्यस्तै इलाम बजार नजिकै सुष्मा राईले पनि इलामेली ललिपप उद्योग स्थापना गरेकी हुन।उनले पनि ३४ जना कामदार राखेर सो उद्योग सञ्चालन गर्दै आएकी छन। रु चार लाखको लागतबाट सुरु भएको व्यवसायबाट राम्रै आम्दानी हुने गरेको उनले सुनाईन। थोरै लगानीबाट सुरु भएको उद्योगमा धेरै महिलाले रोजगारी पाएसँगै उनिहरुमा आत्मनिर्भरसमेत बन्दै गएको छ । उद्योगमा सबैलाई कामको बाँडफाँड गरिएको छ ।
मिठाइका परिकारमा लेबल लगाउने, स्टिकर टाँस्ने, प्याकेजिङ गर्ने काममा महिलाहरुले रोजगारी पाएका छन। गाउँबाट बालबच्चा पढाउन सदरमुकाम बसेका महिलासमेत सो उद्योगबाट स्वरोजगार बन्दै गएका छन। उनिहरुले श्रीमान वा आफन्तबाट पैसा माग्न नपर्ने गरेको बताएका छन। उनिहरु बरु उल्टै परिवारमा पैसा सहयोग गर्न पाएको भन्दै खुसीसमेत व्यक्त गरेका छन।
दूधबाट खुवा तयार पारेपछि ललिपप बनाइन्छ। ललिपपसँगै बम्बैसन पनि तयार पारिन्छ। पन्ध्र वर्ष पहिले सामान्य रुपमा बिक्री हुने ललिपप पछिल्लो समय लोकप्रिय बन्दै गएको छ। दूध पकाउन चुलो बनाएर आगोबाट गरिँदै आएको भए पनि पछिल्लो समय विद्युतीय प्रविधिबाटसमेत दूध सुकाएर कुराउनी निर्माण गरिन्छ । दूध फटाएर छुर्पी, चिज, सेतो रसबरी लगायतका परिकार बनाइन्छ ।हाल ललिपपलगायत दूधजन्य वस्तुको बजारमा समस्या नभएका कारण यस क्षेत्रमा जिल्लावासीको आकर्षण बढ्दै गएको छ । यस्ता उद्योग सञ्चालन गर्नेको सङ्ख्यासमेत बढ्दै गएको छ ।रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij