
शुक्रवार , बैशाख २, २०७९
रुपन्देही, २ वैशाख ।
रुपन्देहीको तिलोत्तमामा बुधवार राति शंकास्पद रूपमा मृत्यु भएकी अमृता खत्री टण्डनको समाचार संकलनको लागि गएका पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ । घटनापछि मृतक अमृताको माइती पक्षले छानबीनको माग गर्दै ईलाका प्रहरी कार्यालय बुटवल अगाडि प्रदर्शन गरिएको समाचार संकलनको लागि गएका पत्रकारहरू शरण कर्माचार्य, दिनेश कुमार श्रेष्ठ र डी.बी. सुस्लिङमाथि दुर्व्यवहार गरेको हो ।
ईप्रका बुटवल अगाडि पीडित पक्षले गरेको प्रदर्शनको तस्बिर खिच्ने क्रममा वरिष्ठ प्रहरी नायब निरीक्षक बाबुराम घिमिरेले हातपात र दुर्व्यवहार गरेको पत्रकार सुस्लिङले बताए ।
पत्रकार कर्माचार्यले सूचना विभागको प्रेस पास देखाउँदा समेत पत्रकार ‘कसैलाई चिन्दैनौँ’ भन्दै घिमिरेले आफ्नो कठालो समातेको बताएका छन् ।
कर्माचार्यले वरिष्ठ प्रहरी नायब निरीक्षक घिमिरेले आफ्नो कठालो समातेर कुटपिटको प्रयास गरेपछि अर्को एक प्रहरी आएर छुटाएको बताए । पत्रकार कर्माचार्य खबर कुरा डटकमका प्रधान सम्पादक, श्रेष्ठ सम्पादक र सुस्लिङ ग्लोबल आवाज डट कमका समाचार प्रमुख हुन् । श्रेष्ठ प्रेस चौतारी नेपाल रुपन्देहीका कोषाध्यक्ष तथा सुस्लिङ चौतारीका जिल्ला सचिवालय सदस्य हुन् ।
बुधवार राती साढे ८ बजे जानकीनगरस्थित माइतीबाट घर गएकी अमृताको सोही राती करिब १० बजेतिर शंकास्पद रूपमा विष सेवनबाट मृत्यु भएको प्रहरीले जनाएको छ । माइतीपक्षले अमृताको घरका परिवारले हत्या गरेको भन्दै बिहीबार बिहानैदेखि प्रदर्शन गर्दै आएका छन् । माइती पक्षको जाहेरीपछि प्रहरीले मृतकका श्रीमान्, सासु र ससुरालाई पक्रेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले जानकारी दिए ।
यसैबीच समाचार संकलनको लागि गएका पत्रकारमाथिको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति, महासंघ रुपन्देही, महासंघ बाँके, प्रेस चौतारी नेपाल रुपन्देही, नेपाल प्रेस युनियन रुपन्देही, समाजवादी प्रेस संगठन, नेपाल रुपन्देही र प्रगतिशील पत्रकार संघ रुपन्देहीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
समाचार संकलनको लागि गएका पत्रकारमाथि ईलाका प्रहरी कार्यालय परिसरमै गरिएको दुर्व्यवहार र ज्यादती निन्दनीय रहेकाले तत्काल दोषीमाथि कारवाही माग गरिएको छ ।
महासंघका लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का, रुपन्देही सचिव विनोद परियार, बाँके सचिव कमल डाँगी, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल, समाजवादी प्रेस संगठन रुपन्देहीका सचिव पुनहरि बेल्बासे, प्रगतिशील पत्रकार संघ रुपन्देहीका सचिव टेकराज भुसाललद्वारा जारी विज्ञप्तीमा पत्रकारहरूको सुरक्षा चुनौतीलाई थप जटिल बनाउने गरी सुरक्षा निकायबाटै भएको यस्तो ज्यादतीको भत्र्सना गर्दै घटनामा संलग्न सुरक्षाकर्मीमाथि छानबिन गरी यथासक्य कारवाही गर्न माग गरिएको छ ।
विज्ञप्तीमा संविधान प्रदत्त प्रेसको अधिकारको सम्मान गरी निर्वाध र सुरक्षित रूपमा समाचार संकलन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण समेत गराइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij