२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

भैरहवामा शनिबार हनुमान जयन्ती मनाइँदै

शुक्रवार , बैशाख २, २०७९

भैरहवा, २ वैशाख ।

भैरहवामा धुमधामसँग हनुमान जयन्ती मनाइने भएको छ । यही वैशाख ३ गते शनिबार पर्ने हनुमान जयन्तीको अवसरमा श्री राम जानकी हनुमान मन्दिर सेवा समिति सिद्धार्थनगर–४, भैरहवा रुपन्देहीले हनुमान जयन्ती उत्सव समारोहको आयोजना गर्ने समितिले जनाएको छ ।

आयोजकले श्री हनुमान जयन्ती उत्सव समारोहबारे बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । कार्यक्रम संयोजक त्रिलोकी प्रसाद गुप्ताले हनुमान जयन्तीको अवसरमा विशाल शोभा यात्राको आयोजना गरिने बताए । बिहान ७ बजे सिद्धार्थनगर–४ उद्योगपुरी (सुगर मिल) अगाडी रहेको श्री राम जानकी हनुमान मन्दिरबाट शोभा यात्रा सुरु हुने गुप्ताले जानकारी दिए । शोभायात्रा गल्लामण्डी, नारायणपथ, बर्मेलीटोली, बैंकरोड लगायतका स्थानको परिक्रमा गरी पुनः हनुमान मन्दिरमा पुगेर समापन हुने उनले बताए । जन्मजयन्तीको अवसरमा हनुमान मन्दिरमा भण्डाराको समेत आयोजना गरिएको उनले बताए ।

श्री रामजानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले प्रत्येक वर्ष हनुमान जयन्ती मनाउँदै आएको बताए । उनले विगत १२ वर्षदेखि हनुमान जयन्ती मनाउँदै आएको बताए । सनातन धर्मको रक्षाका लागि कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले हनुमान जयन्तीमा सहभागि हुन सम्पूर्ण नगरवासीलाई आग्रह गरे । उनले भने, ‘जति मानिसमा जागरुता बढ्दै जान्छ त्यति नै धर्मप्रति आस्था बढ्दै जान्छ, हरेक मानिसले आफ्नो धर्म, संस्कृति, संस्कारको संरक्षणको लागि अगाडी बढ्नुपर्छ । ’जीवनको लक्ष्य प्राप्तीको लागि अध्यात्मलाई साक्षी राख्नुपर्ने उनको भनाइ छ । धर्म, संस्कृति, संस्कारको संरक्षण गर्दै जीवनको लक्ष्य प्राप्त गर्न सकिने उनले बताए ।