मंगलवार , चैत्र २९, २०७८
बुटवल, २९ चैत ।
जय मातादी एम्युज्मेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा डान्स रुपन्देही डान्सको पहिलो सिजन हुने भएको छ । नेपाली नयाँ वर्ष २०७९ मा नयाँ वर्ष विशेष कार्यक्रमसहित डान्स रुपन्देही डान्सको पहिलो सिजन हुन लागेको आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै जनाएको हो ।
प्रालिका प्रबन्ध निर्देशक राजबिर जैसवालले चैत ३० गतेदेखि ३ वैशाख २०७९ गरी ४ दिन कार्यक्रम गरिने जानकारी दिए । उनले ४ दिन दिउँसोमा डान्स रुपन्देही डान्सको अडिसनहरु हुने र रातिमा कन्सर्ट हुने बताए । डान्स रुपन्देही डान्स सञ्चालन गर्ने अघिल्ला वर्षहरुमा तयारी भए सञ्चालन हुन नसकेकोले यो पटक ४ दिनभित्र सक्ने गरी पहिलो सिजन कार्यक्रम गर्न लागेको जानकारी दिए ।
कार्यक्रममा प्रथम हुनेलाई नगद ३० हजार, द्वितीयलाई २० हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना पुरस्कार ५ हजार प्रदान गरिनेछ।
लुम्बिनी न्यु ईयर फेस्ट २०७९ अन्तरगत दिउँसो २ बजेपछि डान्स रुपन्देही डान्सको कार्यक्रम र रातिमा कन्सर्ट सञ्चालन हुने उनले जानकारी दिए।
कार्यक्रमको पहिलो दिन चैत ३० गते डान्स रुपन्देही डान्सको शुभारम्भसंगै चर्चित शनिश श्रेष्ठ, डिजे मारियो, अर्जुन कौशल तथा वैशाख १ गते र्यापर डङजि, गायक रमेश भट्टराई, डिजे बिक्की, वैशाख २ गते र्यापर बालेन, रामजी खाड, डिजे पङ्चिवो तथा वैशाख ३ गते ¥यापर माईला, डिजे प्रमिस, कबिजी, डि ट्युन्स र डान्स रुपन्देही डान्सको फाइनल हुने आयोजकले जनाएको छ । कार्यक्रम अवधी ४ दिन नै रसियाका डान्सरको प्रस्तुति रहने उनले जानकारी दिए ।
१ सय रुपैयाँ टिकट शुल्क रहेको बताउँदै उनले उद्घाटन सत्रमा ४ बजेसम्म प्रवेश गर्नेलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा ४५ जनाले अडिसनमा सहभागी रहेको बताउँदै उनले कार्यक्रम सञ्चालन गर्नको लागि १४ लाख खर्च हुने बताए । कार्यक्रमबाट आएको आम्दानी सामाजिक क्षेत्रमा खर्च गर्ने उनले बताए ।
प्रालिले सञ्चालन गर्ने योजना गरेको लुम्बिनी अवार्ड सो कार्यक्रम हुन नसकेको बताउँदै यो कार्यक्रम जेठ पहिलो वा दोस्रो साता हुने उनले बताए ।
कार्यक्रममा उद्योग व्यापार संघ बुटवलका सचिव यमलाल मरासिनी, नृत्यकर्मी संघ रुपन्देही अध्यक्ष सुन्दर गुरुङ, कलाकार दिपु मगर लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij