२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

तिलोत्तमामा मेयरका लागि एमालेबाट चारजनाको नाम सिफारिस

मंगलवार , चैत्र २९, २०७८

भैरहवा, २९ चैत ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मेयरका लागि चारजनाको नाम सिफारिस गरिएको छ । एमाले तिलोत्तमा नगर कमिटीले आकांक्षा व्यक्त गरेका चारैजनाको नाम सिफारिस गरेको हो ।

तिलोत्तमा नगरपालिकाबाट एमाले प्रदेश कमिटी सदस्य रहेका मोहन चापागाई, हालका मेयर वासुदेव घिमिरे, जिल्ला कमिटी सचिव यज्ञ गैरे र तिलोत्तमा नगर इञ्चार्ज दिनेश फुल्लेलको नाम माथिल्लो कमिटीमा पठाइएको हो । त्यस्तै उपमेयरका लागि हालकी उपमेयर जगेश्वरदेवी चौधरी, देवी वाग्ले, जमुना लम्साल, संगिता गुरुङ र रेनुका खरेलको नाम सिफारिस गरिएको छ ।
अव सिफारिस गरिएका नाम मध्येबाट जिल्ला कमिटी हुँदै प्रदेश कमिटीले मेयरको टुंगो लगाउने छ ।

umlll.jpg

गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरका लागि मोहन चापागाईंले टिकट पाइसकेका थिए । पार्टीभित्र त्यतिबेला दुई खेमा रहेका कारण नेता घनश्याम भुसालले चापागाईंलाई उम्मेदवार बनाउने पार्टीको निर्णय फिर्ता गराए र उनैको योजनामा वासुदेव घिमिरेले मेयरको टिकट पाए र चुनाव जिते । दुवैजना अहिले पार्टीमा विष्णु पौडेल निकट मानिन्छन् । 
एमाले जिल्ला कमिटीले चापागाईंको पक्षमा त्यतिबेला सर्वसम्मत निर्णय गरेको थियो । अहिले पार्टीले आफूलाई न्याय गर्ने लक्ष्यका साथ चापागाईं टोलटोलमा चुनावी माहौल बनाउन सक्रिय छन् । त्यसो त विगतमा चापागाईले हात पारेको टिकट फुस्काउन सफल भएका हालका मेयर वासुदेव घिमिरे फेरि दोहोरिने चर्चा पनि छ । तर उनले संघीय सांसदको टिकट पाउने ग्यारेण्टी भए मेयरको दावी छाड्ने चर्चा कार्यकर्ता पंक्तिमा छ । 

अर्कोतर्फ सत्तारुढ गठबन्धनबाट भने चारजनाले मेयरको दावी गरिरहेका छन् । अघिल्लो निर्वाचनमा पराजय व्यहोरेका नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका गुणनिधी भण्डारी (माधव) र तिलोत्तमा वडा नम्बर ९ का वडाअध्यक्ष नारायण न्यौपानेले मेयरको दावी गरिरहेका छन् । काँग्रेसबाट रोमणी प्रसाद पाठकको पनि चर्चा छ । तर उनी अस्वस्थ रहेकाले सम्भावना कम रहेको अधिकांश कार्यकर्ता बताउँछन् । 

विरासत कायमै राख्ने दाउमा एमाले

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मोहन चापागाईं २०४६ सालको जनआन्दोलनमा यस क्षेत्रबाट विद्यार्थी संगठनको नेतृत्व गरेका थिए । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनको अगुवाई गरेयता उनी राजनीति, पत्रकारितासँगै सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । 

त्यसपछि उनी बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट उपाध्यक्षमा निर्वाचित भए र विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउन भूमिका खेले । त्यसपछि उनी पत्रकारिता क्षेत्रमा समेत क्रियाशिल भए । प्रेस चौतारी नेपाल, रुपन्देहीको अध्यक्ष, केन्द्रीय उपाध्यक्ष, नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्ष हुँदै केन्द्रीय सदस्य समेत बने । त्यस्तै उनी सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को अध्यक्ष समेत भए ।

२०७३ सालमा केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री रहेका विष्णु पौडेलले चापागाईंलाई सञ्चार विज्ञको रुपमा नियुक्त गरेका थिए । एमाले र माओवादी केन्द्र एकीकृरण भई नेकपा बनेपछि उनले पार्टीको तिलोत्तमा नगर कमिटीको अध्यक्ष भए भने जिल्ला प्रचार विभाग प्रमुख बने । 

उनी तिलोत्तमा नगर कमिटीको नेतृत्वमा आएसँगै पार्टी एकतापछि कमजोर र लथालिङ्ग बनेको संगठनलाई सुद्धृढ बनाउन मुख्य भूमिका खेले । आउँदा एमालेको संगठन कमजोर थियो । उनले टोलटोलमा कमिटी निर्माण गर्दै संगठनलाई मजबुत बनाए भने पार्टीको आर्थिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेले । तर राजकीय अवसर अहिलेसम्म नपाउँदा विकासमा योगदान गर्ने उनको चाहना भने अहिलेसम्म अधुरै छ । पार्टीमा उनी कुशल संगठक र विपक्षीको रणनीति बुझेर सोही अनुसार योजना निर्माण गर्ने क्षमता राख्छन् । उनले पार्टीको केन्द्रीय नेतृत्वदेखि स्थानीय कमिटीसम्म मेयरको आकांक्षा राखिसकेका छन् । सिंगो पार्टीपंक्ति आफूप्रति सकारात्मक पाएको उनको भनाइ छ ।

त्यस्तै कांग्रेस नेता रामकृष्ण खाँण अघिल्लो निर्वाचनमा मेयरमा पराजित नेता हुन् । राष्ट्रिय जनमुक्ति पार्टीसँग तालमेल गरेर चुनाव लड्दा पनि उनी पराजित भएका थिए । यसपटकको निर्वाचनमा पनि उनी लड्ने चर्चा छ, यद्यपि उनी सक्रिय ढंगले अझै लागिसकेका छैनन् ।

त्यस्तै कांग्रेसबाट गुणनिधी भण्डारी (माधव) र नारायण न्यौपानेले पनि मेयरका लागि दावी गरिरहेका छन् । कांग्रेसबाट मेयरको दावी गरिरहेकाहरुले अहिले एमालेको विरासत तोड्ने दाउमा छन् । तर तिलोत्तमामा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) कमजोर रहेकाले काँग्रेसलाई एमालेको विरासत तोड्न सजिलो भने छैन । मेयरको दावी गरिरहेका भण्डारी भन्छन्–‘अघिल्लो पटक मलाई अर्को निर्वाचनमा टिकट दिने भनेर आश्वासन दिइएको थियो, त्यस अनुसार आश्वासन पूरा हुने कुरामा म विश्वस्त छु ।’ उता, न्यौपानेले पनि मेयरका लागि आफूले तयारी गरिरहेको प्रतिक्रिया दिए ।

तिलोत्तमा जनमुक्ति पार्टीको पनि राम्रो पकड भएको क्षेत्र हो । उसको मत निर्वाचनमा निर्णायक बन्न सक्ने देखिन्छ । सत्ता गठबन्धन र एमाले जनमुक्तिलाई आफूतिर तान्ने प्रयासमा पनि लागेका छन् ।