
मंगलवार , चैत्र २९, २०७८
भैरहवा, २९ चैत ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेकपा (एमाले) बाट मेयरमा आठ जना नाम सिफारिस गरिएको छ । नगर सचिव नारायण प्रसाद भण्डारीले आकांक्षी आठ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको बताए ।
भरत कुमार पोखरेल, नारायण प्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्र प्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुन कुमार गिरी र हालका मेयर हरि प्रसाद अधिकारीको नाम सिफारिस गरिएको छ ।
पोखरेल एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य हुन् । उनी २०७० सालको संविधानसभा सदस्यको निर्वाचनमा उम्मेदवार भएका थिए । भण्डारी भीम अस्पताल विकास समितिका पूर्व अध्यक्ष हुन् । उनी उद्योग व्यापार संगठन रुपन्देहीका निर्वतमान अध्यक्ष हुन् । उद्योगी व्यवसायी माझ भण्डारी लोकप्रिय छन् ।
हितराज पन्थी एमाले रुपन्देहीका जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हुन् । डा. बस्याल यसअघिको निर्वाचनमा पनि मेयरको उम्मेदवार बन्ने चर्चा भए पनि पछि हरि प्रसाद अधिकारी उम्मेदवार बनेका थिए । राजेन्द्र पन्थी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । अर्याल एमाले रुपन्देहीका जिल्ला सचिवालय सदस्य हुन् । उनले तत्कालिन नेकपा सिद्धार्थनगरको सचिवको जिम्मेवारी सम्हालेका थिए । गिरी एमाले सिद्धार्थनगरका उपाध्यक्ष हुन् । अधिकारी हालका नगरप्रमुख तथा एमाले जिल्ला सचिवालय सदस्य हुन् ।
उपमेयरमा भने तीन जनाको नाम सिफारिस गरिएको छ । जसअनुसार उमा अधिकारी, सीता काफ्ले र पम्फावती खनालको नाम सिफारिस गरिएको नगर सचिव भण्डारीले जानकारी दिए । अधिकारी र काफ्ले एमाले जिल्ला सदस्य हुन् । खनाल एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । गत स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगरकी उपप्रमुख उमा काफ्ले एमालेबाट निर्वाचित भए पनि अहिले नेकपा (एकीकृत समाजवादी) तर्फ लागेकी छन् ।
रुपन्देही क्षेत्र नम्बर ३ मा पर्ने सिद्धार्थनगर एमाले नेता तथा पूर्वमन्त्री घनश्याम भुसालको निर्वाचन क्षेत्रमा पर्छ । यहाँ सत्तारुढ गठबन्धनले तालमेल गरेर जाने सहमति गरिसकेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij