२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

सयौं वर्ष पुरानो समाधिस्थल जोगाउन दशनामी समाजद्वारा अभियान सुरु

मंगलवार , चैत्र २९, २०७८

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भक्तपुर, २९ चैत ।

    सयौं वर्ष अघिदेखि आफ्ना पुर्खाको समाधिस्थ गर्दै आएका भक्तपुर र काभ्रेका दशनामीहरु आफ्नो समाधिस्थलको संरक्षण अभियान सुरु गरेका छन् । 

    भक्तपुर नगरपालिका हनुमानघाटमा रहेको दशनामीहरुको मृत्युपश्चात पार्थिव शरीरलाई जमिनमा समाधिस्थ गरि अन्त्येष्ठी गर्दै आएको भक्तपुरको हनुमानघाट स्थित समाधिस्थलमा भक्तपुर नगरपालिकाले जथाभावी फोहोर थुपारिदिने, शवको समाधि गर्न नै समस्या पर्ने गरी ढुंगा, ईट्टा, सिसा, बोरा, फलामका तार, सिमेन्टका पिलर लगायतका सामग्रीसहितको माटो थुपार्ने र समाधिस्थलनै कब्जा गर्ने गरी संरचना निर्माणको तयारी गरेपछि भक्तपुरका दशनामीहरुले समाधिस्थलको सफाई अभियान नै सुरु गरेका छन् । 

    भक्तपुरका झण्डै एक हजार र काभ्रेको नालाका दशनामीहरुले सयौँ वर्ष अगाडिदेखि शव व्यवस्थापन गर्दै आएको समाधिस्थललाई सर्वोच्च अदालतको आदेशविपरीत संरचना निर्माण गर्दै व्यायाम गर्ने स्थल बनाउन थालेपछि दशनामीहरु एक भएर आफ्नो समाधिस्थल जोगाउनकै लागि सरसफाई अभियान सञ्चालन गरेका छन् । 

    भक्तपुर नगरपालिकाले बिभिन्न ठाउँबाट ल्याएर थुपारेको फोहोर माटोलाई डोजरले खनेर पुरिएका करिब १० ट्रक ढुंगा, ईट्टा, सिसा, बोरा, फलामका तार, सिमेन्टका पिलर लगायतका सामानहरुलाई निकालेर अन्यत्र लगेर व्यवस्थापन गरिएको छ ।
    समाधिस्थलभरी रहेका सबै फोहोर पन्छाएर शवको समाधिस्थ गर्न सहज हुने गरी सफाई अभियान सुरु गरेको समाधिस्लथको सफाई अभियानका अभियन्ता एवं संस्कृति संरक्षणकर्मी रविन्द्र पुरीले जानकारी दिए । यसका लागि दशनामीहरु आफै भेला भएका छन् भने संरक्षणका लागि रु. ८ लाख रुपैयाँ आर्थिक संकलन भएको बताए ।

    उनले भने, ‘सयौ वर्ष अगाडिदेखि दशनामीहरुले यो ठाउँलाई पुर्खाहरु समाधिस्थ गर्दै आएको ठाउँ हो, यसको संरक्षण गर्नु दायित्व हामी दशनामीको त हो नै, कला, संस्कृतिको संरक्षण गर्ने भक्तपुर नगरपालिकाको पनि जिम्मेवारी हो, हामी हाम्रो समाधिस्थलको संरक्षणमा एक भएर जुटेका छौँ ।’ 

    सोमबार भक्तपुर नगरपालिका भित्र रहेका, चाँगुनारायण नगरपालिका क्षेत्रको ताथली, सुडाल, वागेश्वरी, छालिङ, चाँगु, काभ्रेको नालालगायतका क्षेत्रबाट सहभागि भएका ६ सय भन्दा बढी दशनामीहरुले समाधिस्थलको सफाई गरेका छन् । 
    दशनामी समाज भक्तपुरका अध्यक्ष मनोज गिरीले दशनामीको समाधिस्थलमा भक्तपुर नगरपालिकाले जथाभावी गरिरहेको बताउदै अरुको कला, संस्कृति, परम्परालाई सम्मान गर्न नगरपालिकाले सिक्नुपर्ने बताए ।

    त्यसो त १० वर्ष अगाडि नै यस समाधिस्थललाई व्यवस्थित गर्न पुरीले तयार पारेको गुरुयोजनालाई सार्वजनिक गरि कार्यान्वयनमा ल्याउन लागे पछि भक्तपुर नगरपालिकाले अवरोध गरेपछि सर्वोच्च अदालतमा यसविरुद्ध रिट नै परेको थियो । सर्वोच्च अदालतले २०७४ सालमा भक्तपुर नगरपालिकाको नाममा आदेश जारी गर्दै दशनामीहरुको समाधिस्थल भित्र कुनै संरचना नबनाउन र समाधिस्थललाई तारबार लगाएर संरक्षण गर्न आदेश नै जारी गरेको थियो ।

    त्यस अवधीमा नगरपालिकाले समाधिस्थलमा बस पार्क बनाउने, खेल मैदान बनाउने लगायतको तयारी गरेपछि दशनामीले विरोध गर्दै आएका थिए । नगरपालिकाले समाधिस्थलको यसअघि पनि अतिक्रमण गर्दै आएको उनीहरुको गुनासो छ । 
    गुरुयोजनामा समाधिस्थल वरिपरी पर्खाल घेर्ने, समाधिस्थलकाबीच भागमा आकर्षक शिव मन्दिरको स्थापना गर्ने, समाधिस्थलको पूर्व भागमा आकर्षक एवं परम्परागत शैलीको किरियापुत्री भवन निर्माण गर्ने, नुहाउनका लागि धाराको व्यवस्थापन गर्ने, खोलाको छेऊमा सिंढी निर्माण गरी घाट व्यवस्थापन गर्ने र समाधिस्थलमा पार्थिव शरीरलाई व्यवस्थित रुपमा समाधिस्थ गर्ने समाजको गुरुयोजना कार्यान्वयनमा आउन सकेको छैन । कूल १९ रोपनी क्षेत्रफलमा फैलिएको समाधिस्थलको पश्चिमपट्टी जहाँ धेरै शव समाधिस्थ गरिएको छ, त्यस स्थानमा नगरपालिकाले सिमेन्टको ईट्टा ओछ्याएर व्यायाम गर्ने स्थल बनाउने तयारी गरेको बताइएको छ । 

    दशनामीले यसको विरोध गर्दै दशनामीको धर्म, संस्कृति र मृत्युपछिको परम्पराविरुद्ध कुनै काम नगर्न नगरपालिकालाई आग्रह गरेका छन् । यस समाधिस्थलमा दशनामी समाज अन्तर्गतका गिरी, पुरी, भारती, वन, सागर, सरस्वती, आरण्य, तीर्थ, पर्वत र आश्रम एवं जंगम जातिका मृतक व्यक्तिको पार्थिव शरीरलाई समाधीस्थ गर्दै (शव गाड्दै) आइरहेका छन् ।