
मंगलवार , चैत्र २९, २०७८
भैरहवा, २९ चैत ।
नेपाल नेत्रहिन युवा संघ रुपन्देहीले अपांगता भएका व्यक्तिहरुलाई सहज तरिकाले मतदान गर्ने व्यवस्था मिलाउन माग गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउनुपर्ने संघको माग छ ।
भैरहवास्थित लुम्बिनी प्रेस क्लबका कार्यालयमा संघले सोमबार आयोजना गरेको आसन्न स्थानीय तहको निर्वाचन र अपांगता भएका व्यक्तिहरुका सवाल केन्द्रीत पत्रकार भेटघाट कार्यक्रममा अपांगमैत्री निर्वाचन प्रणाली बनाउनपर्ने माग गरेको छ ।
नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टीकाराम पौडेलले आसन्न स्थानीय तहको निर्वाचनमा अपांगता भएका व्यक्तिहरुलाई राजनीतिक अधिकार÷पहुँच पुर्याउनुपर्ने बताए । उनले विगतका निर्वाचनमा पनि अपांगता भएका व्यक्तिहरुको पहुँच नपुगेको तथा स्थानीय तहमा समेत नेतृत्व नभएको बताए । उनले भने, ‘स्थानीय तहदेखि केन्द्रसम्म, प्रतिनिधिसभा र राष्ट्रियसभामा समेत अपांगता भएका व्यक्तिहरुको पहुँच हुनुपर्छ, जसले गर्दा अपांगतामैत्री कानून बन्छ, सोही अनुसार आफ्ना हक अधिकारी राम्रोसँग सही ढंगले उपयोग गर्न सकिन्छ । अपांगता भएका व्यक्तिहरुको हकअधिकारका लागि राजनीतिक पहुँच परियोजना सञ्चालन गरिरहेका छौं ।’
संघका परियोजना प्रबद्र्धक तथा सञ्चारकर्मी टीकाराम घिमिरेले आफूहरुले निर्वाचनमा मत दिन नपाएको गुनासो गरे । उनले यसपटक पनि त्यो सम्भावना नरहेको बताए । उनले भने, ‘हामीले चाहेको व्यक्तिलाई भोट हाल्नका लागि हामी यो देशको अयोग्य नागरिकका रुपमा चिनिएका छौं । अघिल्लो निर्वाचनमा म मत हाल्नका लागि मतदान केन्द्र गए मैले चाहेको उम्मेदवारलाई मतदान गर्ने निर्णय गरे, मलाई त्यति बेला मेरा अभिभावक वा मतदान अधिकृतले मतदान गरिदिनुपर्छ भनियो, हामीले आफूले चाहेको व्यक्तिलाई भोट हाल्ने स्थिति थिएन, त्यो भनेको अरुले जुन चिन्हमा भोट हाल्दिन्छ, वा बदर गर्यो त्यो हामीलाई थाहा हुने विषय भएन ।’
उनले यसपटकको निर्वाचनमा विद्युतीय निर्वाचन प्रणाली र अपनाउनुपर्ने बताए । ऐन, नियम, प्रक्रिया तथा तयारी नपुगेका कारण भन्ने आयोगको प्रतिक्रिया आउने गरेको घिमिरेको भनाइ छ । अहिले मतपत्र छपाईको काम धमाधम भएकाले कम्तीमा मतपत्रमा ठूलो चिन्ह, स्वस्तिक चिन्ह पनि त्यही अनुसारको बन्नुपर्छ भन्ने आफुहरुको भनाइ रहेको उनले बताए । अपांगता भएका व्यक्तिलाई सहज रुपमा मतदान केन्द्रसम्म पुर्याउने वातावरण बनाउनेतर्फ निर्वाचन आयोग र प्रशासन लाग्नुपर्ने उनले माग गरे ।
‘निर्वाचन शिक्षाका सन्दर्भमा पनि हामी कहिल्यै पनि प्राथमिकतामा परेनौं, हाम्रा लागि ठूला मतपत्र बनाउने कुरा होला, दृष्टिबिहीनका लागि विद्युतीय मतदानको कुरा होला वा अन्य अपांगता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म लैजाने अवस्थाका सन्दर्भमा हामी कहिल्यै पनि प्राथमिकतामा परेनौं, हामीले यसबारेमा गरेका प्रयासहरु सफल हुन सकेन, ’उनले भने । परियोजना फिल्ड अधिकृत अस्मिता क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij