२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

सडक खाना महोत्सवको पूर्वसन्ध्यामा सडक सरसफाई

सोमवार , चैत्र २८, २०७८

भैरहवा, २८ चैत । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीले सोमबार बिहान देवकोटाचोक क्षेत्रमा सरसफाई गरेको छ । नयाँ वर्ष २०७९ को अवसरमा यही चैत ३० गते हुने सिद्धार्थ सडक खाना महोत्सव–२०७८ को पूर्वसन्ध्यामा सडक सरसफाई कार्यक्रम आयोजना गरिएको संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले बताए ।

भैरहवाको देवकोटा चोकदेखि महोत्सव स्थलसम्म सरसफाई गरिएको कार्यक्रम संयोजक दलबहादुर थापाले जानकारी दिए । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नारासहित चैत ३० गते महोत्सव हुन लागेको हो ।

कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई उकास्न टेवा पुर्याउने उद्देश्यले खाना महोत्सव आयोजना गरिएको संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले जानकारी दिए । महोत्सवमा स्थानीय कला संस्कृति, स्थानीय सांस्कृतिक नृत्य, विद्यालय नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रस्तुति तथा डिजेसहितका कार्यक्रम हुने संगठनका महासचिव राजेश महोत्राले जानकारी दिए ।

खाना महोत्सवमा सानादेखि तारे होटलसम्मका खानाका स्वाद लिन पाइने छ । साथमा थारु, नेपाली, चाइजिन, इण्डियन, थाई लगायत सबै किसिमका खानाहरु सडकमै पाइनेछ । महोत्सवले विगत ३ वर्षदेखि थला परेको पर्यटन व्यवसायमा रौनकता ल्याउने आशा गरिएको छ । महोत्सवमा विभिन्न खानाका परिकारसहितका १ सय वटा स्टल रहने छन् । स्वदेशी तथा भारतीय र तेस्रो मुलुकका गरी ५० हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ । महोत्सवमा हास्य कलाकार सुमन कोईराला दले दाई, गायक खुमन अधिकारी, अफसर अलि, सुमन थापा, डिजे रुकेन श्रेष्ठ लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।

होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन रुपन्देही आयोजक रहेको महोत्सवमा सह–आयोजक सिद्धार्थनगर नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय रुपन्देही रहेको छ । प्रबद्र्धकमा पर्यटन डिभिजन कार्यालय रुपन्देही लुम्बिनी प्रदेश र संरक्षकमा उद्योग व्यापार संगठन रुपन्देही रहेको छ भने संस्थागत सल्लाहकारमा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही रहेको छ ।

सहयोगी संस्थाहरुमा नाटा लुम्बिनी प्रदेश, सिद्धार्थ होटल एशोसिएसन शान, लुम्बिनी होटल संघ नेपाल र मदिरा व्यवसायी संघ भैरहवा रहेको छ भने ईभेन्ट पाटनरमा युनिक साउण्ड रहेको छ ।