२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

लुम्बिनी उद्योगको प्रचुर सम्भावना बोकेको प्रदेश हो : मुख्यमन्त्री के.सी.

बुधवार , चैत्र २३, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, २३ चैत ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले लुम्बिनी उद्योगको प्रचुर सम्भावना बोकेको प्रदेश रहेको बताएका छन् । उनले यो प्रदेशमा उद्योगका लागि प्रयाप्त जमिन रहेको बताए । नेपाल ईट्टा उद्योग महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन तथा १३ औं वार्षिक साधारणसभाको बुधबार भैरहवामा उद्घाटन गर्दै मुख्यमन्त्री के.सी.ले विभिन्न ढंगले उद्योग क्षेत्रको विकास गरेर रोजगारीको सिर्जना गर्नुपर्ने बताए । उनले भने, ‘हामीलाई विश्वास छ, आयात र निर्यातको हिसाबले सिमेन्ट जस्तै ईट्टालाई अर्को मार्केटिङ सेन्टरको रुपमा अगाडी बढाउन सकिन्छ, यो प्रदेशमा १८ वटा सिमेन्ट उद्योग रहेका छन् । ’उनले निर्माण सामग्रीमा लुम्बिनी प्रदेश धेरै आत्मनिर्भर हुँदै गएको बताए । 

    मुख्यमन्त्री के.सी.ले दुई वर्ष कोभिड महामारीका कारण सामाजिक, आर्थिक, व्यक्तिगत जीवनका साथै राज्य स्वास्थ्य क्षेत्रमा केन्द्रित भएको बताए । उनले भने, ‘हामीसंग कार्यसम्पादनमा कयौं अन्तरविरोध छन्, संघ, प्रदेश र स्थानीय तहले ध्यान दिनुपर्ने र त्यसको संरक्षण, प्रवद्र्धन गर्नुपर्ने कार्यमा कार्यविभाजन नहुँदा समस्या छ । ’प्रदेश र संघको साझा सूचीका विषय टुंग्याउन सके आफ्नै ढंगले निर्देशन दिएर उद्योगहरु फस्टाउन सक्ने उनले बताए । उद्योग फस्टाउन नसके प्रदेश र स्थानीय तह बलियो हुन नसक्ने उनको भनाइ थियो ।

    नियम, कार्यविधि र कार्यविभाजनको क्षेत्रमा अझै एकात्मक सोच भएको पुरानो ढर्राको प्रवृति जीवित भएको मुख्यमन्त्री के.सी.ले बताए । जलस्रोतको धनी देश नेपालमा बिजुली बाहिर बेच्नु भन्दा कोइलाको खपतलाई बिजुलीबाट खपत गर्न सके उद्योगहरु धेरै फस्टाउने र स्थायीत्व समेत हुने उनको भनाइ थियो ।

    उद्योगको विकास गर्न लुम्बिनी प्रदेशमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्थापना गरिएको उनले बताए । उनले भने, ‘सानादेखि ठूला उद्योग व्यवस्थित गर्दैछौं, लगानी सम्मेलनको तयारी भएको छ, जग्गा प्राप्ती र पूर्वाधार निश्चित गरेपछि लगानीको वातावरण बन्छ । ’समाजवादको व्यवस्थापनको पक्ष धेरै महत्वपूर्ण रहेको उनले बताए ।

    कार्यक्रममा नेपाल ईट्टा उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष शंकर बहादुर चन्दले मधेश प्रदेशपछि सबैभन्दा बढी ईट्टा उत्पादन गर्ने लुम्बिनी प्र्रदेश भएको बताए । उनले तमाम नागरिकलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगार दिएको ईट्टा उद्योग धरासायी हुँदै गएको बताए । उनले भने, ‘सबै किसिमले जोखिमयुक्त उद्योग हो, ईट्टा उद्योगीका माग पुरा गर्नुपर्छ । ’
    प्रदेश सरकारले केही न केही उपलब्धीपूर्ण काम गर्नेछ भन्ने आशा रहेको बताए । यसअघि भन्सारमा कोइलाको गुणस्तर चेकजाँच गर्ने मेशिन उपलब्ध गराउने वाचा पाए पनि त्यो कार्यान्वयन हुन नसकेको उनले बताए । 

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा नेपाल ईट्टा उद्योग महासंघका सल्लाहकार हरि प्रसाद अधिकारीले काँचो ईट्टाको बीमा गर्ने व्यवस्था नभएको भन्दै गुनासो गरे । उनले मुलुकको आमुल परिवर्तनमा ईट्टा उद्योगी व्यवसाीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘ईट्टा उद्योगी व्यवसायीहरु केवल उद्योग व्यवसाय सञ्चालन मात्र गर्नुभएको छैन, उहाँहरुको विभिन्न क्षेत्रमा योगदान छ । ’ईट्टा उद्योगीका माग सम्बोधन कहिले हुन्छ भन्दै उनले प्रश्न गरे ।

    लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीका अध्यक्ष तथा ईट्टा उद्योग संघ लुम्बिनी प्रदेश संयोजक थानेश्वर घिमिरेले ईट्टा उद्योग अभावैअभावमा बाँचेको बताए । उनले सरकारबाट कुनै सहयोग र सुविधा पाउन नसकेको गुनासो गरे । ईट्टाको बीमाको व्यवस्था नहुनु, सरकारबाट कोइलाको व्यवस्था नहुनु, काठ दाउराको व्यवस्था हुन नसकेको कारण उद्योगी मारमा परेको उनको भनाइ थियो ।

    आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यले उद्योगी व्यवसायीको योगदान महत्वपूर्ण रहेको बताए । उनले उद्योगी व्यवसायीको समस्या समाधान गर्न तयार रहेको बताए ।

    लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका प्रेस सल्लाहकार गुनाराम घिमिरेले ईट्टामा नेपाल आत्मनिर्भर भएको बताए । उनले ईट्टा उद्योगी व्यवसायीका समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताए ।

    नेपाल ईट्टा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारको अध्यक्षता, थानेश्वर घिमिरेको स्वागत तथा महासचिव कृष्ण कुमार अवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    वरिष्ठ सल्लाहकार गुप्ता सम्मानित 

    यसैबीच ईट्टा उद्योगको विकासमा स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल ईट्टा उद्योग महासंघले महासंघका वरिष्ठ सल्लाहकार रतन कुमार गुप्तालाई सम्मान गरेको छ । महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन तथा १३ औं वार्षिक साधारणसभाको अवसर पारेर गुप्तालाई सम्मान गरिएको हो । उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी., नेपाल ईट्टा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकार, महासचिव कृष्ण कुमार अवाल लगायतले सम्मानपत्र प्रदान गरे । गुप्ता सिद्धार्थनगर नगरपालिकाका पूर्व नगर उपप्रमुख समेत हुन् । त्यस्तै उद्योगी बलराम आश्वासी, लाल बहादुर गौचन लगायतलाई पनि सम्मान गरिएको थियो ।

    IMG_5643.JPG

    पत्रकारद्वय ढुंगाना र भट्टराई सम्मानित

    त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार माधव ढुंगाना र खिमानन्द भट्टराई सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रमार्फत योगदान पुर्याएको भन्दै उनीहरुलाई नेपाल ईट्टा उद्योग महासंघले सम्मान गरेको हो । 

    IMG_5650.JPG