२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

रुपन्देहीमा टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु

मंगलवार , चैत्र २२, २०७८

भैरहवा, २२ चैत ।
रुपन्देहीमा टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु भएको छ । मंगलबार एक कार्यक्रमकाबीच जिल्लाको मायादेवी गाउँपालिका–८ स्थित फ्युचर लाइट इङलिस बोर्डिङ स्कूलबाट अभियान सुरु भएको हो । 

मायादेवी गाउँपालिका स्वास्थ्य शाखा कम्हरिया, रुपन्देही र स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले टाइफाइडविरुद्धको खोप अभियानमा कोही पनि नछुट्ने गरी लाग्नुपर्ने बताए । उनले सरकारले जनता खोज्ने क्रमको सुरुवात भएको बताए । उनले भने, ‘खोपबाट कुनै खतरा छैन ।’

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनताको स्वास्थ्य सेवा प्रत्याभूतिका लागि खोपले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले सबै मिलेर अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिए । १५ महिनादेखि १५ वर्षसम्म उमेरका बालबालिकालाई खोप केन्द्रसम्म ल्याउनुपर्ने उनको भनाइ थियो ।

मायादेवी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद लामिछानेले टाइफाइडविरुद्धको खोप सुरक्षित रहेको बताए । उनले टाइफाइड रोगले वर्षेनी आक्रान्त बनाएकाले यसबाट बच्न खोप लगाउनुपर्ने बताए । 

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले टाइफाइडविरुद्धको खोप सुरक्षित, प्रभावकारी र भरपर्दो तथा निःशुल्क भएको बताए । उनले सम्पूर्ण बालबालिकालाई खोप केन्द्रमा लगेर खोप लगाउन अभिभावकहरुलाई आग्रह गरे ।

मायादेवी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष चोक बहादुर गुरुङले टाइफाइडविरुद्धको अभियान सफल पार्नुपर्ने बताए । फ्युचर लाइट इङलिस बोर्डिङ स्कूलका प्रिन्सिपल गम्भिर गुरुङले अभियानलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । मायादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

रुपन्देहीमा मंगलबारदेखि सुरु भएको खोप अभियान पहिलो चरणमा चैत २७ गतेसम्म बुटवल उपमहानगरपालिका, लुम्बिनी साँस्कृतिक, सिद्धार्थनगर, देवदह, सैनामैना नगरपालिका, गैडहवा, कञ्चन, शुद्धोधन, मायादेवी, कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए । त्यस्तै दोस्रो चरण अन्तर्गत वैशाख ६ गतेदेखि १४ गतेसम्म तिलोत्तमा नगरपालिका, ओमसतिया, रोहिणी र सियारी गाउँपालिकामा अभियान सञ्चालन गरिने शर्माले जानकारी दिए । रुपन्देहीमा २ लाख ६६ हजार ५ सय १८ जना खोप लगाउनुपर्ने लक्षित जनसंख्या रहेको उनले बताए ।