२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

के टाइफाइडविरुद्धको खोप सुरक्षित र प्रभावकारी छ ?

मंगलवार , चैत्र २२, २०७८

के टाइफाइडविरुद्धको खोप सुरक्षित र प्रभावकारी छ ?

हाल नेपालमा दिन लागिएको टाइफाइड कन्ज्युगेट भ्याक्सिन (टीसीभी) विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको र विश्वको धेरै देशहरुमा प्रयोग भइसकेको खोप हो । यो खोप सुरक्षित र प्रभावकारी छ ।

टाइफाइड रोग कसरी सर्छ ?

टाइफाइड/म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने संक्रामक रोग हो । संक्रमित व्यक्तिको दिसाको माध्यमबाट टाइफाइड रोग लगाउने जीवाणु बाहिरी वातावरणमा पुग्छ र स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्छ । 

यो रोग कुन उमेरको मानिसहरुमा लाग्छ ?

यो रोग सबै उमेर समूहको व्यक्तिहरुमा लागेको पाइएको छ । विशेषतः १५ वर्ष मुनीका बालबालिकामा धेरै लागेको पाइएको छ ।

यो रोगका मुख्य लक्षण तथा चिन्हहरु के के हुन् ?

यो रोगको संक्रमण भएमा उच्च ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, जिब्रोमा सेता लेत लाग्ने आदि जस्ता मुख्य लक्षण र चिन्ह देखिन्छन् । केही व्यक्तिमा पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने लक्षण देखिन सक्छन् । यो रोगको संक्रमण पश्चात केही व्यक्तिहरुमा शरीरका विभिन्न भागमा संक्रमण फैलने, सानो आन्द्रामा प्वाल पर्ने र मस्तिष्कसम्बन्धी समस्या जस्ता जटिलताहरु देखा पर्न सक्छ ।

यो रोगको पहिचान र निदान कसरी गर्न सकिन्छ ?

लक्षण तथा चिन्हको आधारमा यो रोगको प्रारम्भिक पहिचान हुन्छ । त्यस्तै रगतको जाँच र दिसा पिसाबको जाँच गरेर रोगको पहिचान गर्न सकिन्छ ।

यो रोगको उपचार र रोकथामक कसरी गर्न सकिन्छ ?

समयमै स्वास्थ्य केन्द्रमा गइ चिकित्सक वा स्वास्थ्यकर्मीको परामर्श अनुसार उपयुक्त प्रति जैविक औषधी सेवनबाट यो रोगको उपचार गर्नुपर्छ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा दूषित खाना र पानीको माध्यमबाट सर्ने भएकोले यसबाट बच्ने मुख्य उपाय भनेको नै व्यक्तिगत सरसफाई तथा वातावरण स्वच्छ राख्नु हो । साथै यो रोगबाट बच्न १५ महिनाको उमेरमा एक मात्रा खोप लगाउनुपर्छ ।

यो खोप क–कसले लिनु जरुरी छ ?

यो खोप १५ महिना वा सो भन्दा माथि उमेर समूहका सबै व्यक्तिहरुले लिन मिल्छ तर हालको अभियानमा १५ महिनादेखि १५ वर्ष मुनीका बालबालिकाहरुले लगाउनुपर्दछ । सो पछि नियमित खोपमार्फत १५ महिनाका प्रत्येक बालबालिकाहरुले टाइफाइडविरुद्धको एक मात्रा खोप अनिवार्य लिनुपर्छ ।

यो खोप कसले लगाउनु हुँदैन ?
यो खोप विगतमा कुनै खोप लिदाँ गम्भिर प्रकारको प्रतिक्रिया (एलर्जी) देखा परेको वा कुनै खाना वा कुनै वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा लिनु हुँदैन । साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा लिनु हुँदैन, तर बिरामी ठीक भइसकेपछि यो खोप लिन सकिन्छ ।

नोट : साधारण बिरामी भएको अवस्था जस्तै : हल्का ज्वरो आएको, रुघाखोकी लागेको, कुपोषण भएको अवस्थामा यो खोप दिन सकिन्छ ।

यो खोप लगाएपछि के के असरहरु देखिन सक्छ ?

टाइफाइडविरुद्धको खोप लगाएपछि अन्य खोपहरुमा जस्तै सामान्य (सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरु दुख्ने) जस्ता अरि हुन सक्छन् र यस्ता सामान्य असरहरु विस्तारै आफै ठीक भएर जान्छन् । खोप लगाए पश्चात यस्ता लक्षणहरु बाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

टाइफाइड रोगबाट सुरक्षित हुन यो खोपको कति मात्रा÷पटक लगाउनुपर्छ ?

यो खोप अभियानको समयमा १५ महिनादेखि १५ वर्ष मुनीका बालबालिकाले १ मात्र र सो पछि १५ महिनाका प्रत्येक बालबालिकालाई नियमित खोपमार्फत १ मात्रा खोप लगाउनु पर्छ ।

टाइफाइडविरुद्धको खोप अभियान कहिले र कहाँ सञ्चालन भइरहेको छ ?

टाइफाइडविरुद्धको खोप अभियान २०७८ चैत र २०७९ वैशाख महिनाभित्र एकै चरणमा देशैभर सञ्चालन हुनेछ । आफ्नो जिल्ला, पालिका तथा वडाको खोप अभियान सञ्चालन हुने मिति, समय स्थानीय एफ.एम, रेडियो, स्वास्थ्य संस्था, स्वयंसेविका, विद्यालयहरु आदि मार्फत जानकारी पाइनेछ ।

यो खोप कहाँ कहाँबाट उपलब्ध हुन्छ ?

आफ्नो स्थानीय तहको वडामा रहेको तोकिएको विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र निर्धारण गरिएको हुन्छ । आफूलाई पायक पर्ने खोप केन्द्रमा गइ यो खोप लिन सकिन्छ ।

यस अघि टाइफाइडविरुद्धको खोप लिएका बालबालिकाहरुले यो अभियानमा खोप लगाउने वा नलगाउने ?
१५ महिनादेखि १५ वर्ष भित्रका बालबालिकाले यस अघि टाइफाइडविरुद्धको खोप लिएको भएता पनि यो अभियानमा १ मात्रा खोप लिनुपर्छ ।

यो खोप लगाएपछि कुनै प्रमाण/कागजात उपलब्ध हुन्छ ?

हो उपलब्ध हुन्छ । खोप लगाएपछि सबै बालबालिकालाई खोप कार्ड उपलब्ध हुनेछ र यो कार्ड सुरक्षित साथ राख्नुपर्छ ।