
मंगलवार , चैत्र २२, २०७८
तिलोत्तमा, २२ चैत ।
महिला सशक्तीकरणमा योगदान पुर्याउने उद्देश्यले रुपन्देहीको तिलोत्तमा–८ चार नम्बर स्थित ज्योती जागृती आमा समूहले उदघोषण तालिम सम्पन्न गरेको छ । आमा समूहमा आवद्ध महिलाहरुलाई लक्षित गरेर चैत १७ गतेदेखि पाँच दिनसम्म तालिम आयोजना गरिएको हो । तालिममा २५ जना महिलाको सहभागिता रहेको थियो । तालिममा लुम्बिनी मिडिया हव प्रा.लि.का प्रमुख प्रकाश गौतम र पत्रकार लक्ष्मण पौडेलले सहजीकरण गरेका थिए ।
तालिम समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले तालिम लिइसकेपछि हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए । उनले अवसर पाउने हो भने महिलाहरु पनि अगाडि बढ्न सक्छन् भन्ने कुराको उदाहरण तालिमले दिएको भन्दै यस्ता रचनात्मक काममा नगरपालिका र वडाको सदैव साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । महिलाको क्षमता विकासमा आफुले जस्तोसुकै योजना ल्याउन तयार रहेको बताउँदै वडाअध्यक्ष पौडेलले उचित खालको सल्लाह दिन समेत आग्रह गरे ।
वडा सदस्य बिन्दु भण्डारीले महिलाहरुको क्षमता अभिवृद्धि तालिम समाज रुपान्तरणकै एउटा पाटो भएको भन्दै यसले महिलाहरुलाई सक्षम बनाउने मात्र नभई देश विकासमै योगदान गर्ने बताइन् ।
ज्योती जागृती आमा समूहकी निवर्तमान अध्यक्ष शान्ता भट्टराईले महिलाहरु घरबाहिर निस्कनु हुँदैन भन्ने कुरा विस्तारै हट्दै गएको र यस्ता तालिमले महिलाहरुको क्षमता विकास र आत्मनिर्भरतमा भूमिका खेल्ने बताइ्न् ।
प्रशिक्षक लक्ष्मण पौडेलले यो तालिमले महिलाहरुमा आफ्नो कुरा आफै राख्न क्षमताको विकास भएको विश्वास आफुले लिएको बताउँदै नेतृत्व विकासमा यस्ता तालिम उपलब्धीमूलक हुने बताए ।
सहायक प्रशिक्षक लुम्बिनी मिडिया हव प्रा.लि.की दिपा न्यौपानेले नियमित अभ्यासले मात्रै पहिलाहरुले सिकेको सीपलाई व्यवहारमा सदुपयोग गर्न सक्ने बताइन् । आमा समूहकी अध्यक्ष बबि कुमारी भट्टराईले आगामी दिनहरुमा पनि महिलाका लागि कार्यक्रम ल्याउने बताउँदै सक्रियतापूर्वक तालिममा सहभागिता जनाएकोमा सबैलाई धन्यवाद व्यक्त गरिन् ।
त्यस अवसरमा आमा समूहकी उपाध्यक्ष मथुरा काफ्ले, सचिव सिता तिवारी, सहभागीहरु रिना थापा, माया भुसाल, थुमीसरा थापा, सीता पाण्डे लगायतले तालिमले आफूहरुमा परिवर्तन ल्याएको बताउँदै अब सक्रियतापुर्वक अगाडि बढ्न आफूहरुलाई प्रेरणा प्राप्त भएको बताएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij