images

शुक्रवार, बैशाख ७ गते २०८१

निजी क्षेत्रको साझेदारीमा पर्यटन प्रवर्द्धन : पर्यटनमन्त्री श्रेष्ठ

निजी क्षेत्रको साझेदारीमा पर्यटन प्रवर्द्धन : पर्यटनमन्त्री श्रेष्ठ

images
images
images
सोमवार, चैत्र २१ २०७८
सोमवार, चैत्र २१ २०७८
  • निजी क्षेत्रको साझेदारीमा पर्यटन प्रवर्द्धन : पर्यटनमन्त्री श्रेष्ठ

    काठमाडौँ, २१ चैत। बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी ढङ्गले अघि बढाउने भएको छ । बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयले निजी क्षेत्रका पर्यटन व्यवसायीसँग साझेदारी एवम् समन्वयका साथ प्रवद्र्धनका गतिविधिलाई प्रभावकारी बनाउने रणनीति लिएको हो ।

    images
    images
    images

    उक्त प्रयोजनका निम्ति उपत्यका पर्यटन कार्यालयको समन्वयमा मन्त्रालयलयले आज काठमाडौँमा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवम् प्रतिनिधिसँग  अन्तरक्रिया गरेको छ । विशेषगरी कोभिड–१९ महामारीपछिको पर्यटन व्यवसायलाई कसरी चलायमान बनाउने, पर्यटन क्षेत्रका विद्यमान समस्याको पहिचान र समाधानका लागि सरोकारवालासँग छलफल तथा सुझाव लिएर आगामी नीति तथा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो ।

    मन्त्रालयले तत्काल गर्नुपर्ने र कतिपय रणनीतिक महत्वका कामलाई आगामी बजेटमार्फत सम्बोधन गरेर अघि बढ्ने नीतिअनुरुप पर्यटन विकासको पहल अघि बढाइएको जनाएको छ ।

    पर्यटन व्यवसायीसँगको अन्तरक्रियाको उद्घाटन गर्दै संस्कृति, तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकार लागि परेको बताए । उनले कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा झन्डै आठ प्रतिशत योगदान रहेको पर्यटन क्षेत्रलाई राज्यले प्राथमिकता दिएर आवश्यक स्रोत साधन उपलब्ध गराएको खण्डमा यो क्षेत्रले चाँडो प्रगति गर्ने भन्दै यसका लागि निजी क्षेत्रसँगको साझेदारितालाई फराकिलो बनाइने विश्वास व्यक्त गरे ।

    मन्त्री श्रेष्ठले नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रको सहकार्य जरुरी रहेको भन्दै पर्यटनका नयाँ सम्भावनायुक्त क्षेत्रमा पूर्वाधार विकास लगायतका कामलाई अघि बढाइने बताए । मन्त्री श्रेष्ठले भ्यू टावरका नाममा फजुल खर्च भइरहेको र त्यस शिर्षकको बजेटलाई अन्यत्र मोडेर पर्यटकीय पूर्वाधारमा खर्च गरिने उल्लेख गरे ।

    संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव मदन कोइरालाले नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश विश्वभर प्रवद्र्धन गर्न नयाँ पर्यटकीय गतिविधि सञ्चालन गर्न मन्त्रालयले योजना बनाएको भन्दै व्यवसायीबाट प्राप्त सुझावलाई आगामी बजेटमार्फत कार्यान्वयनमा लगिने विश्वास व्यक्त गरे ।

    उपत्यका पर्यटन कार्यालयका प्रमुख टङ्क भट्टराईले कोभिड महामारीले थलिएको पर्यटन उद्योगलाई उकास्न तथा करको दायरामा नआएका पर्यटनसँग सम्बन्धित स्पा, मसाजलगायत व्यवसायलाई व्यवस्थित ढङ्गले सञ्जालन गर्नेगरी नीतिगत सुधारका काम गरिने उल्लेख गरे । उनले बागमती प्रदेशका १३ वटै जिल्लामा पर्यटकीय सम्भावनाको पहिचान र प्रवद्र्धनका गतिविधि प्रभावकारी रुपमा सञ्चालन गरिने बताए ।

    कार्यक्रममा नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापाले पर्यटन क्षेत्रका समग्र समस्याको पहिचान गरी सहज रुपमा समाधान गर्न सरोकारवाला निकायले चासो दिनुपर्नेमा जोड दिए ।

    ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खोमबहादुर सुवेदीले कोभिड–१९ ले थलिएको पर्यटन क्षेत्र र आबद्ध व्यवसायीलाई राहत पुग्ने गरी कार्यक्रम ल्याउन तथा पर्यटन कार्यालयबाट उपलब्ध हुने सेवालाई सहज तुल्याउन आग्रह गरे ।

    टुरिस्ट बस एसोसिएसनका अध्यक्ष कृष्ण आचार्यले पर्यटन क्षेत्रका महत्वपूर्ण पाटोका रुपमा रहेको पर्यटक यातायात व्यवसायको समस्यालाई सम्बोधन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

    होटल सङ्घ नेपाल (हान) का महासचिव साजन शाक्यले व्यावसायिक रुपमा सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई बौद्धमार्गीको हबका रुपमा स्थापित गर्न बौद्धमार्गीको बाहुल्यता भएका मुलुकमा कनेक्टिभिटी र प्रवद्र्धन गरिनुपर्ने धारणा राखे ।

    नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले हिमाल सरसफाइको काममा पर्यटन मजदुरलाई उपयोग गर्न तथा पर्वतारोहीलाई सद्भावनादूतका रुपमा अवसर प्रदान गर्न सरकारसमक्ष अनुरोध गरे।

    घरबास कार्यक्रम ‘होमस्टे’ महासङ्घका उपाध्यक्ष बाबुराजा महर्जनले यथाशीघ्र होमस्टेको कार्यविधि बनाएर व्यवस्थित रुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

    नेपाल माउन्टेन एकेडेमीका अध्यक्ष लाक्पाफुटी शेर्पाले महिला आरोहीलाई कम्तीमा ५० प्रतिशत रोयल्टी छुट गरिनुपर्ने तथा आरोहीका बालबालिकालाई शिक्षा र स्वास्थ्यमा विशेष सहुलियतको व्यवस्था गर्न प्रदेश सरकारसमक्ष माग गरे।

    गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) का अध्यक्ष गोपाल थापाले नयाँ गन्तव्यको प्रवद्र्धनमा संस्थाले सक्रियता बढाउने बताए ।

    टुरिस्ट लयर फोरमका अध्यक्ष घनेन्द्र श्रेष्ठले काठमाडौँ उपत्यकामा के कति सङ्ख्यामा होटल खोल्ने तथा कति आवश्यक हो भन्ने मापदण्ड बनाएर व्यवस्थित गर्न जरुरी भएको औँल्याए ।

    कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनिधि कुन्दन मिश्र, पर्यटक प्रहरी निरीक्षक चन्द्रकिशोरा साह, व्यवसायीहरु कृष्ण अर्याल, गङ्गा नेपाल, शिव लामिछाने, नारायण पराजुलीलगायतले पर्यटन प्रवद्र्धनको आगामी योजनाबारे धारणा राखेका थिए । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij