आइतवार , चैत्र २०, २०७८
काठमाडौँ, २० चैत। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाललाई जतिसक्दो चाँडो सार्वजनिक प्रसारण सेवा ‘पिएसबी’मा रुपान्तरण गरिने बताएका छन्।
रेडियो नेपालको ७२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा सरकार प्रवक्ता कार्कीले रेडियो नेपाललाई पिएसबीमा रुपान्तणका लागि कानुनी तथा संसदीय प्रक्रियाले छिट्टै निकास पाउने विश्वास व्यक्त गरे। उनले भने, “यसलाई सार्वजनिक प्रसारण संस्थाका रुपमा लैजान कानुनी प्रक्रिया अगाडि बढिसकेको छ, आगामी दिन रेडियो नेपाललाई प्रभावकारी रुपमा अगाडि बढ्न आवश्यक पर्ने सबै सहयोग गर्न सरकार तयार छ।”
महाभूकम्प र कोरोना महामारीको समयमा वा देशमा हुने विभिन्न विपत्ति तथा प्राकृतिक प्रकोपमा समेत रडियो नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिन रेडियो नेपाललाई सार्वजनिक सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने मा जोड दिए।
मन्त्री कार्कीले भने, “प्राकृतिक प्रकोप होस् वा विपत्, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनेदेखि नयाँ संविधान निर्माण गर्नेसम्म, भूकम्पदेखि कोभिड सङ्क्रमणको रोकथाम, नियन्त्रण, सतर्कता र सजगताको सन्देश गरेर अतुलनीय योगदान गरेको छ।”
उनले रेडियो नेपालका प्रतिस्पर्धीसँग खरो रुपमा उत्रनुपर्ने बाध्यतासँगै दुरदराजमा आफ्नो सेवाको पहुँच विस्तार गर्दै गाउँ र बस्तीका समस्या तथा सम्भावनालाई सम्बोधन गर्नुपर्ने जरुरी रहेको बताए। अझै पनि देशको शत्प्रतिशत भू–भागमा रेडियो सुनाउन रेडियो नेपालले थप प्रसारण सेवा विस्तार गर्ने कार्यमा लाग्नुपर्ने उनको भनाइ छ।
सञ्चार मन्त्रालयका सचिव तथा रेडियो प्रसार सेवा विकास समिति अध्यक्ष डा. बैकुण्ठ अर्यालले सूचना प्रविधिको विकाससँगै रेडियो नेपाललाई सबै जनताको पहुँचमा पुर्याउने गरी कार्ययोजना बनाउनुपर्नेमा जोड दिए।
विसं २००७ चैत २० गते स्थापना भएको नेपालको अग्रणी प्रसारण संस्था रेडियो नेपाल आजदेखि ७१औँ वर्ष पूरा गरी ७२ वर्षमा प्रवेश गरेको छ। ‘आधुनिक नेपालको समावेशी आवाज’ मूल नारा बोकेको रेडियो नेपालले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हिमाल पहाडदेखि तराई मधेस र इन्टरनेटका माध्यमबाट विदेशमा बस्नेका लागि भरपर्दो र विश्वसनीय प्रसारण सेवा प्रवाह गर्दै आएको छ।
हाल रेडियो नेपालले २१ भाषाका समाचार र २० भाषाका कार्यक्रम प्रसारण गर्दै आएको छ। रेडियो नेपालले ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान पुरस्कार’ बाट वरिष्ठ गीतकार किरण खरेल र सङ्गीतकार दीपक जङ्गमलाई प्रदान गरेको छ। त्यसैगरी रेडियो नेपालमा २५ वर्ष सेवा अवधि पूरा गर्ने ३६ कर्मचारीलाई स्वर्ण पदक प्रदान गरिएको छ। रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij