२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

भाषा तथा संस्कृति संरक्षण एवं सम्बर्द्धन प्रशिक्षण कार्यक्रम सम्पन्न

आइतवार , चैत्र २०, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, २० चैत ।
    नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् सिद्धार्थनगर, रुपन्देहीको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोग एवं समन्वयमा भाषा तथा संस्कृति संरक्षण एवं सम्बर्द्धन प्रशिक्षण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । चैत १२ गतेदेखि १९ गतेसम्म भएको ७ दिने भाषा प्रशिक्षण कार्यक्रममा मगर भाषा, गुरुङ र नेवार भाषाको भाषा प्रशिक्षण दिएको थियो । कार्यक्रममा ५२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।  

    मगर भाषाको उमेश थापा लाटोमगर, गुरुङ भाषाको भीम गुरुङ र नेवार भाषाको राम बहादुर श्रेष्ठले भाषा प्रशिक्षण एवं सहजीकरण गरेका थिए । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले नगरपालिकामा रहेका सबै जातजातिको भाषा, धर्म, संस्कृति र कलालाई संरक्षण सम्बर्द्धन गर्न लागिपरेको र सबै समुदायहरुसँग टाढा नरहेको बताए ।

    कार्यक्रममा महासंघका सल्लाहकार सुर्य कुमार सारु मगरले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आदिवासी जनजातिहरु जुनसुकै पार्टीमा आस्था राखे पनि स्थानीय सरकारमा आउनुपर्ने जोड दिए । त्यस्तै थारु कल्याणकारिणीका रुपन्देही जिल्ला अध्यक्ष सतिश कुमार चौधरीले आदिमकालदेखि तराई क्षेत्रमा थारुहरु बसोबास गर्दै आएकोले भूमिपुत्र भएको बताए । मगर, गुरुङ, नेवार र थारुहरुको इतिहास एवं संस्कृतिबारे इतिहासविद् विजय गोविन्द सागरले जानकारी गराएका थिए । 

    मगर भाषाका प्रशिक्षक उमेश थापा मगरले हरेक जातिको जातीय मौलिक पहिचानको मृत्यु स्वजातिले प्रयोग नगर्दा आत्महत्या भएर मर्छ भने त्यसलाई संरक्षण सम्बद्र्धन गर्न राज्यले कुनै पहल नगरे भने त्यो हत्या भएर मर्ने बताए । 

    कार्यक्रममा गुरुङ भाषाका प्रशिक्षक भीम गुरुङ, सिद्धार्थनगर नगरपालिका सामाजिक शाखाका अधिकृत यादव प्रसाद सापकोटा, प्रशिक्षार्थी दुर्गा श्रेष्ठ, सलुना गुरुङ र कुशुम रानाले मन्तव्य व्यक्त गरेका थिए । 

    महासंघका अध्यक्ष चन्द्र बहादुर राना मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य सुकमाया गुरुङले गरेका थिए भने भाषा प्रशिक्षणको समीक्षा प्रेम बहादुर गुरुङ तथा सचिव राम बहादुर श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा मगर ,गुरुङ, नेवार र थारु जातिको सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरिएको थियो ।