२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

रुपन्देहीमा टाइफाइडविरुद्धको खोप अभियान चैत २२ देखि

आइतवार , चैत्र २०, २०७८

भैरहवा, २० चैत । रुपन्देहीमा टाइफाइड रोगविरुद्धको खोप अभियान यही चैत २२ देखि सुरु हुने भएको छ । अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई खोप लगाइनेछ ।  

रुपन्देहीमा पहिलो चरण अन्तर्गत चैत २२ देखि २७ गतेसम्म बुटवल उपमहानगरपालिका, लुम्बिनी साँस्कृतिक, सिद्धार्थनगर, देवदह, सैनामैना नगरपालिका, गैडहवा, कञ्चन, शुद्धोधन, मायादेवी, कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए । त्यस्तै दोस्रो चरण अन्तर्गत वैशाख ६ गतेदेखि १४ गतेसम्म तिलोत्तमा नगरपालिका, ओमसतिया, रोहिणी र सियारी गाउँपालिकामा अभियान सञ्चालन गरिने शर्माले जानकारी दिए ।

देशैभर एकै चरणमा चैत २३ गतेदेखि अभियान सुरु भए पनि रुपन्देहीमा चैत २२ गतेदेखि सुरु हुने उनले जानकारी दिए । स्थानीय तहको निर्वाचन, वैशाख महिना विद्यालयको शैक्षिक सत्रको अन्त्य हुने महिना भएको, एसईई परीक्षा २०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म हुने, जेठ महिनापछि कार्यक्रम सञ्चालन गर्न वर्षायामको कारणले कठिनाइ हुने कारणले वैशाख १८ भित्र सम्पन्न गर्नुपर्ने शर्माले बताए ।

रुपन्देहीमा २ लाख ६६ हजार ५ सय १८ जना खोप लगाउनुपर्ने लक्षित जनसंख्या रहेको बताए । स्वास्थ्य कार्यालय रुपन्देहीले आइतबार गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै कार्यालयका खोप अधिकृत शर्माले जिल्लामा खोप केन्द्र संख्या ९६६, खोप दिने स्वास्थ्यकर्मीको संख्या १ हजार ३ सय ३३, स्वयंसेवक २ हजार ४ सय ६८, शिक्षक ९६६, शिक्षिका ९६६, स्थानीय सुपरीवेक्षक १५८, जिल्ला सुपरीवेक्षक ११ र सहयोगी संघ–संस्था ६ जना रहने बताए ।

यो अभियानमा लक्षित संख्या मुख्य रुपमा करिब ८० प्रतिशत विद्यालयमा रहने भएकाले विद्यालयलाई प्राथमिकतामा राखिने उनले बताए । अभियान सकेपश्चात नियमित रुपमा टाइफाइडविरुद्धको खोप लगाइने उनले जानकारी दिए । रुपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तुमा चैत २२, दाङ, बाँके, बर्दिया, पाल्पा, रोल्पामा चैत २३ तथा रुकुम पुर्व, गुल्मी, अर्घाखाँची र प्युठानमा चैत २५ गतेदेखि टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु हुँदैछ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले जिल्लामा खोप अभियान प्रभावकारी रुपमा सञ्चालन भएको बताए । उनले केही चुनौती भए पनि सबै मिलेर टाइफाइड रोगविरुद्धको खोप अभियान सफल पार्ने बताए । उनले स्थानीय तहसँग समन्वय गरेर अगाडी बढ्ने बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले टाइफाइडविरुद्धको खोप अभियानमा १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई खोप लगाइने बताए । उनले यो अभियान सफल पार्न स्थानीय तह, शिक्षकशिक्षिका, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी लगायत सबैको भूमिका महत्वपूर्ण रहने बताए ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले स्वास्थ्य कार्यालयको भूमिका राम्रो र प्रभावकारी रहेको बताए । उनले टाइफाइडविरुद्धको खोपलाई अभियानकै रुपमा सञ्चालन गरिने बताए ।

टाइफाइडविरुद्धको खोप कसले लगाउनु हुँदैन ?

यो खोप विगतमा कुनै खोप लिदाँ गम्भिर प्रकारको प्रतिक्रिया (एलर्जी) देखा परेको वा कुनै खाना वा कुनै वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा लिनु हुँदैन । साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा लिनु हुँदैन, तर बिरामी ठीक भइसकेपछि यो खोप लिन सकिन्छ ।

खोप लगाएपछि देखिने असर

टाइफाइडविरुद्धको खोप लगाएपछि अन्य खोपहरुमा जस्तै सामान्य (सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरु दुख्ने) जस्ता अरि हुन सक्छन् र यस्ता सामान्य असरहरु विस्तारै आफै ठीक भएर जान्छन् । खोप लगाए पश्चात यस्ता लक्षणहरु बाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ

टाइफाइड रोग कसरी सर्छ ?

टाइफाइड/म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने संक्रामक रोग हो । संक्रमित व्यक्तिको दिसाको माध्यमबाट टाइफाइड रोग लगाउने जीवाणु बाहिरी वातावरणमा पुग्छ र स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्छ । यो रोग सबै उमेर समूहको व्यक्तिहरुमा लागेको पाइएको छ । विशेषतः १५ वर्ष मुनीका बालबालिकामा धेरै लागेको पाइएको छ ।

यो रोगका मुख्य लक्षण

यो रोगको संक्रमण भएमा उच्च ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, जिब्रोमा सेता लेत लाग्ने आदि जस्ता मुख्य लक्षण र चिन्ह देखिन्छन् । केही व्यक्तिमा पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने लक्षण देखिन सक्छन् । यो रोगको संक्रमण पश्चात केही व्यक्तिहरुमा शरीरका विभिन्न भागमा संक्रमण फैलने, सानो आन्द्रामा प्वाल पर्ने र मस्तिष्कसम्बन्धी समस्या जस्ता जटिलताहरु देखा पर्न सक्छ ।

रोगको पहिचान र निदान

लक्षण तथा चिन्हको आधारमा यो रोगको प्रारम्भिक पहिचान हुन्छ । त्यस्तै रगतको जाँच र दिसा पिसाबको जाँच गरेर रोगको पहिचान गर्न सकिन्छ ।

रोगको उपचार र रोकथाम

समयमै स्वास्थ्य केन्द्रमा गइ चिकित्सक वा स्वास्थ्यकर्मीको परामर्श अनुसार उपयुक्त प्रति जैविक औषधी सेवनबाट यो रोगको उपचार गर्नुपर्छ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा दूषित खाना र पानीको माध्यमबाट सर्ने भएकोले यसबाट बच्ने मुख्य उपाय भनेको नै व्यक्तिगत सरसफाई तथा वातावरण स्वच्छ राख्नु हो । साथै यो रोगबाट बच्न १५ महिनाको उमेरमा एक मात्रा खोप लगाउनुपर्छ ।