२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

लुम्बिनी र दार्जिलिङका पत्रकारहरुबीच सम्बन्ध विस्तार

शनिवार , चैत्र १९, २०७८

दार्जिलिङ (भारत), १९ चैत । 
भैरहवामा क्रियाशिल पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लब र दार्जिलिङको दार्जिलिङ प्रेस गिल्डबीच अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै दार्जिलिङ प्रेस गिल्डका छिरिङ शेर्पाले दुई देश बीच रहेको सम्बन्ध आउने दिनमा थप प्रगाढ बनाउँदै लैजाने र यसमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताए । पत्रकारितामा नेपाल र दार्जिलिङबीच ठोस रुपमा पहल नभएको अवस्थामा अबको अवस्थामा दुवै क्लबमार्फत त्यो दुरी घट्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै दार्जिलिङ प्रेस गिल्डका अध्यक्ष रविन राईले नेपाल र दार्जिलिङको सम्बन्ध धेरै पुरानो रहेको भए पनि पत्रकारको सम्बन्ध अहिलेसम्म नबनेको बताए । यस्तो अवस्थामा यो भेटघाटले दुई देशका पत्रकारबीच सम्बन्ध बलियो हुने बताए । उनले दुवै देशका पत्रकारहरुबीच आपसी सहकार्य गरी दुई देशमा पत्रकारबीच पर्ने समस्याहरु समाधान पनि हुने जनाए । 

लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले दार्जिलिङ र नेपालको साहित्य, कला एवं अन्य धेरैमा समानता रहेको तथा अहिलेको भेटघाटले आगामी दिनको सम्बन्ध थप बलियो बनाउने बताए । यसको लागि नेपाली र दार्जिलिङका पत्रकारहरुबीच सहकार्य आवश्यक रहेको बताए । त्यस्तै क्लबका अध्यक्ष नरेश केसीले पत्रकारको यो भेटघाट महत्वपूर्ण रहेको बताए । उनले दार्जिलिङ र नेपालबीच भाषा, साहित्य र अन्य विधामा प्राचीन समयदेखि नै सुमधुर सम्बन्ध रहेको बताए । दार्जिलिङ भ्रमणले अपनत्व प्रदान गरेको र सिक्किमबाट नेपालले पनि धेरै कुराहरु सिक्नुपर्ने धारणा राखे । उनले दुवै क्लबबीच भगिनी सम्बन्ध राख्न प्रस्ताव समेत गरे । अध्यक्ष केसीले आगामी बुद्ध जयन्तीमा दार्जिलिङ प्रेस गिल्डलाइ आमन्त्रण समेत गरे । 

कार्यक्रममा दार्जिलिङ प्रेस गिल्डका पदाधिकारीका साथै स्थानीय पत्रकार तथा भारत भ्रमणमा रहेका लुम्बिनी प्रेस क्लबका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।