२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

एमाले अध्यक्ष ओली चैत १४ गते भैरहवा आउँदै

आइतवार , चैत्र १३, २०७८

भैरहवा, १३ चैत । 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चैत १४ गते सोमबार भैरहवा आउने भएका छन् । 
कपिलवस्तुमा हुन लागेको वृहत पार्टी प्रवेश कार्यक्रममा जान लागेका ओली भैरहवामा समेत पार्टीको कार्यक्रममा प्रशिक्षण दिन र पार्टी प्रवेश गराउन आउन लागेको एमाले सिद्धार्थनगर नगर कमिटीले जनाएको छ । 

ओली सोमबार बिहान ९ः४५ बजे सौर्य एयरलाइन्सको जहाजबाट भैरहवा आउने कार्यक्रम रहेको एमाले सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले बताए । 

एमाले सिद्धार्थनगर नगर कमिटीको आयोजनामा पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रुपमा पार्टीका अध्यक्ष ओलीले वैचारिक, राजनैतिक, समसामयिक प्रशिक्षण समेत दिने नगर अध्यक्ष थापाले बताए ।  

एमाले सिद्धार्थनगर नगर कमिटीका सचिव नारायण प्रसाद भण्डारीले कार्यक्रममा अन्य पार्टी परित्याग गरी नेता कार्यकर्ता एमाले प्रवेश गर्ने समेत कार्यक्रम रहेको बताए । ‘उच्चतहकै नेताहरु प्रवेश गर्नुहुन्छ, उद्योगी, व्यवसायी तथा राजनीतिमा सक्रिय व्यक्ति प्रवेश गर्नुहुन्छ भण्डारीले भने । ६ सय भन्दा बढी सिद्धार्थनगरमा अन्य पार्टीमा रहेका ब्यक्तिहरु एमालेमा प्रवेश गर्नुहुन्छ’ भण्डारीले भने । 

एमाले अध्यक्ष केपी ओली भैरहवा आउने भएपछि अन्य पार्टी परित्याग गरी एमालेमा कुन नेता आउने अपेक्षाका साथ धेरैले चासोका साथ हेरेका छन् । एमाले अध्यक्ष ओली कपिलवस्तुमा ८ हजार भन्दा बढी अन्य पार्टीबाट एमालेमा प्रवेश गर्ने कार्यक्रमलाई लक्षित गरी आउन लागेका हुन् ।