
आइतवार , चैत्र १३, २०७८
परासी, १३ चैत ।
रामग्राम नगरपालिका शनिबार एक भव्य समारोहका बिच बालमैत्री नगर घोषणा भएको छ । नवलपरासी जिल्ला सदरमुकाम परासीमा आयोजित रामग्राम नगरपालिकालाई बालमैत्री नगर घोषणा समारोहमा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले घोषणापत्र पढेर घोषणा गरेका हुन् ।
रामग्राम नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्दै मुख्यमन्त्री केसीले रामग्राम नगरपालका र सम्पूर्ण नगरबासीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरे । समारोहलाई सम्बोधन गर्दै केसीले लुम्बिनी प्रदेश सरकार समग्र क्षेत्रको विकासका कार्यमा अगाडी बढिरहेको जिकिर गरे । रामग्राम नगरपालिकाले तोकिएको ५१ वटा सुचक पुरा गरेपछि शनिबार भव्य समारोहकाबीच बालमैत्री नगरपालिका घोषणा भएको हो । रामग्राम नगरपालिका जिल्लाको दोस्रो बालमैत्री नगर बनेको छ । बालमैत्री घोषणा समारोहका अध्यक्ष एवं रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले आफनो प्रतिवेदन प्रस्तुत गर्दै यसको निरन्तरताका लागि आगामी ५ वर्षको लागि ७ करोड बढी बजेटको रणनैतिक योजनाहरु समेत बनाई सकिएको जानकारी दिए ।
नगर बालमैत्री घोषणा भएपछि अतिथि र सहभागीहरुले यसको निरन्तरता र दिगोपनाका लागि प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरेका थिए । रामग्राम नगरपालिकामा कुल १८ वटा वडाहरु रहेको छ । नगरमा बालमैत्री स्थानीय शासनका क्षेत्रहरुमध्ये बालबचाउ, बाल संरक्षण, बालविकास, बाल सहभागिता र संस्थागत विकासका गरी कुल ५१ वटा सुचकहरु पुरा भएपछि नगरपालिका बालमैत्री नगर घोषणा भएको छ ।
रामग्राम नगरपालिकामा कुल १०२ वटा बाल क्लबहरु रहेका छन् भने नगरपालिकामा कुल २० हजार ८ सय २६ रहेका छन् । कार्यक्रममा बालमैत्री नगर बनाउनमा भुमिका खेल्ने, पत्रकार, शिक्षक, विद्यालय, समाजसेवी, कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।
बालमैत्री घोषणा कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यद्धय बैजनाथ चौधरी, बैजनाथ जयसवाल, संविधानसभा सदस्य विक्रम खनाल, राजनीतिक दलको तर्फबाट पुरन चौधरी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, उद्योग वाणिज्य संघका महासचिव गिरीराज पाण्डे, नगर शिक्षा अधिकारी रुद्र प्रसाद रेग्मी लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij