शुक्रवार , चैत्र ११, २०७८
भैरहवा, ११ चैत ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्, सिद्धार्थनगर, रुपन्देहीको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोग एवं समन्वयमा भाषा तथा संस्कृति संरक्षण एंव सम्बद्र्धनसम्बन्धी सातदिने प्रशिक्षण कार्यक्रम भैरहवामा सुरु भएको छ ।
उक्त प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि महासंघका रुपन्देही अध्यक्ष शंकर गाहा मगरले उद्घाटन गर्दै राजनैतिक आन्दोलन पुरा भएको बताए । स्थानीय तहले आदिवासी जनजातिलाई बजेट बाँड्फाड गर्दा विभेद गरेको उनले बताए । त्यस्तै साहित्यकार विजय सागरले सबै जातजातिको संस्कृति, भाषा र इतिहासलाई बुझ्न जरुरी रहेको बताउँदै मगर, गुरुङ, नेवार, थारु र अन्य जातजातिको संक्षिप्त परिचय दिएका थिए ।
सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत तथा सामाजिक शाखा प्रमुख यादव प्रसाद सापकोटाले सिद्धार्थनगरको प्रोफाइल तयारी गरिरहेको जानकारी गराउँदै अब सबै जातजातिको सही तथ्यांक आउने र सबै खाले विकास गर्न सकिने बताए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य तथा न्यायीक समिति सदस्य उमेश थापा लाटोमगरले कार्यक्रमकोबारे प्रकाश पार्दै मानव जातिको उत्पत्तिसंगै संस्कृति र भाषाको विकास भएकोले यो मानव जातिमा रहिरहने र पुस्ता हस्तान्तरण हुने भएकोले अभाषा र संस्कृतिलाई स्वयं जाति र राज्यले संयुक्त रुपमा संरक्षण गर्नुपर्ने बताए । उनले स्थानीय सरकार संचालन ऐन २०७४ ले व्यवस्था गरेअनुसार बजेट छुटिएको र आदिवासी जनजातिका आफ्नो मौलिक पहिचान, भाषा तथा संस्कृतिको संरक्षण सम्बद्र्धन प्रशिक्षण कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा सुर्य कुमार सारु मगर, देवी गुरुङ, रेखा प्रसाद चौधरी, कमानसिंह गुरुङ, सतीश कुमार चौधरी, शेखर बज्राचार्य लगायतले बोलेका थिए । महासंघ नगर परिषदका अध्यक्ष चन्द्र बहादुर राना मगरको अध्यक्षता, प्रेम बहादुर गुरुङको स्वागत तथा राम बहादुर श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । मगर, गुरुङ र नेवार भाषा प्रशिक्षण ७ दिनसम्म सञ्चालन हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij