२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

रुपन्देहीमा ८ महिनामा ९९२ जना क्षयरोगी

शुक्रवार , चैत्र ११, २०७८

भैरहवा, ११ चैत ।
रुपन्देहीमा ८ महिनाको अवधिमा ९९२ जना क्षयरोगी पत्ता लागेको छ । साउनदेखि फागुनसम्म ९९२ जनामा क्षयरोग संक्रमणको पुष्टि भएको हो । रुपन्देहीमा चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा २८ जना क्षयरोगीको मृत्यु भएको छ । 

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्ममा यस रोगका कारण २८ जनाले ज्यान गुमाएका हुन् । यो मृत्युदर गत आर्थिक वर्ष २०७७।७८ को भन्दा ५० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुरै महिनामा यस रोगका कारण २१ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय रुपन्देहीका फोकलपर्सन हुम बहादुर खनालले बताए ।  त्यस्तै चालु आर्थिक बर्षको ८ महिनामा ९ सय ९२ जना क्षयरोगका बिरामीहरु जिल्लामा सक्रिय रहेको खनालले जानकारी दिए । जसमा पुरुष ६ सय ७ जना, महिला ३ सय ८५ जना र बालबालिका ५१ जना रहेका छन् । गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा बिरामीको संख्या पनि बढी हो । गत आर्थिक वर्षको पुरै अवधिमा जिल्लामा क्षयरोगीको संख्या १ हजार २ सय ४१ जना रहेका थिए । जसमा पुरुष ७ सय ६४ जना, महिला ४ सय ७७ जना र बालबालिका ४३ जना रहेको फोकलपर्सन खनालले बताए । यो तथ्यांकलाई हेर्दा समग्र बिरामीको ५ प्रतिशत बिरामीहरु ५ वर्षमुनिका बालबालिकाहरु रहेको पाइएको छ ।

रोग पत्ता लागेको ६ महिनासम्म नियमित रुपमा औषधी खानुपर्ने, स्वास्थ्यकर्मीको निगरानीमा मात्र औषधी खानुपर्ने लगायतका कारण बिरामीहरुले यस प्रक्रियालाई झन्झटिलो मानेर वेवास्ता गर्दा रोगीको संख्या तथा मृत्युदरमा वृद्धि भएको हुन सक्ने देखिन्छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा बढी क्षयरोगका बिरामीहरु रहेका छन् भने मृत्युदर पनि अन्य जिल्लाको तुलनामा रुपन्देहीमा नै बढी छ ।

यस रोगका बिरामीहरु पत्ता लगाइ सहयोगीको भूमिकामा आफुहरुलाई कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेज (किड्स) नामक संस्थाले काम गरिरहेको फोकलपर्सन खनालको भनाइ छ । उक्त संस्थाले क्षयरोगको क्षेत्रमा रुपन्देहीसहित लुम्बिनी प्रदेशका ९ जिल्ला र कर्णाली प्रदेशका ४ जिल्लामा काम गरिरहेको किड्स रुपन्देहीका कार्यक्रम संयोजक विवेचना पाण्डेले बताइन् । उनका अनुसार उक्त संस्थाले जिल्लाका सबै पालिकाका गाउँगाउँ र टोलटोलमा गइ शंका लागेका बिरामीको परीक्षण गर्ने र रोगी पत्ता लागेमा उपचारको लागि स्वास्थ्य कार्यालय संग सहकार्य गर्ने गर्दछ । 

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार खुला भारतीय सीमा, अशिक्षा, पोषणको कमी, चेतनाको कमी, गरिबी लगायतका कारण रुपन्देहीमा रोगीको संख्या तथा मृत्युदरमा वृद्धि भएको हो । उनका अनुसार रुपन्देही विकसित जिल्ला भए तापनि यहाँका गाउँ गाउँको अवस्था अझै पनि दयनीय रहेका कारण जहाँ गरीबी त्यहाँ क्षयरोगका बिरामी भन्ने भनाइलाई ती पछाडि परेका क्षेत्रले सावित गरेका कारण रोगीको संख्यामा कमी नआएको हो ।

जिल्लामा क्षयरोगको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवा गरी दुई ठाउँमा जटिल खालको अवस्थाका बिरामीको लागि भर्ना गरी उपचार गर्ने व्यवस्था छ भने जिल्लाका विभिन्न स्थानमा रहेका ९२ वटा क्षयरोग उपचार केन्द्रहरुबाट निःशुल्क रुपमा औषधीहरु उपलब्ध हुने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख ढकालले जानकारी दिए ।

सरकारले लुकेका रोगीहरु पत्ता लगाइ समस्या समाधान गर्ने र क्षयरोगको अन्त्य गर्ने उदेश्यले प्रत्येक वर्ष मार्च २४ तारिखमा क्षयरोग दिवस पनि मनाउँदै आएको छ । सोहीअनुरुप बिहीबार स्वास्थ्य कार्यालय रुपन्देहीले पनि समाजमा यस रोगबारे सचेतना फैलाउने र रोगीहरुलाई समयमै उपचार प्रक्रियामा आउन आग्रह गर्ने उद्देश्यले पत्रकारहरुसंग अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरी मनाएको हो । यति मात्र नभइ अन्य समयमा पनि पालिकास्तरीय गोष्ठी, टोलहरुमा सचेतना कार्यक्रम लगायतका कार्यक्रमहरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस रोगको न्युनीकरणका लागि खाना खान मन नलाग्ने र दुब्लाउँदै जाने, थकाइ लाग्ने, दुइ हप्ता भन्दा बढी खोकी लाग्ने, खकारमा रगत देखिने, साँझपख ज्वरो आउने लगायतका लक्षणहरु देखिएमा तुरुन्त नजिकैको क्षयरोग उपचार केन्द्रमा सम्पर्क गर्न समेत स्वास्थ्य कार्यालय रुपन्देहीले आग्रह गरेको छ ।  सन् २०३५ सम्ममा प्रतिलाख १ जना बिरामी र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल बनाउने सरकारको लक्ष्य समेत रहेको छ ।