
सोमवार , चैत्र ७, २०७८
रुपन्देही, ७ चैत ।
सैनामैना दलित उत्थान नगर समितिको नेतृत्वमा निर्माण गरिएको आवास हस्तान्तरण गरिएको छ । ५७ औँ अन्तर्राष्ट्रिय रंगभेद उन्मुलन दिवसको अवसर पारेर अतिविपन्न बेसहारा बालबालिकाका लागी निर्माण गरिएको आवास एक कार्यक्रमकाबीच सोमबार हस्तान्तरण गरेको हो । समितिको अगुवाइमा चन्दादाताबाट करिब १ लाख २ हजार रकम संकलन गरी सैनामैना वडा नम्बर ९ मा असहाय दुई बालबालिकालाई एक आवास प्रदान गरिएको बताइएको छ ।
हस्तान्तरण कार्यक्रम सैनामैना दलित उत्थान समिति वडा नम्बर ९ का अध्यक्ष भिम बहादुर सार्कीको अध्यक्षता, नेकपा (माओवादी केन्द्र) सैनामैना नगर अध्यक्ष तथा चन्ददाता मान बहादुर महतको प्रमुख आतिथ्यता तथा सैनामैना दलित उत्थान सैनामैना नगर समितिका अध्यक्ष अम्बिका परियार, सैनामैना वडा नम्बर ९ का वडा अध्यक्ष डोलनाथ भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
सोही अवसरमा बोल्दै माओवादी केन्द्र सैनामैना नगर अध्यक्ष मान बहादुर महतले असहाय तथा अतिविपन्न परिवारलाई सहयोग गर्नु मानवीयता प्रकट हुनु उल्लेख गरे । समाजमा अझै पनि गरीबीको रेखामुनि दलित समुदाय उल्लेखीय रहेको बताउँदै अध्यक्ष महतले समान हैसियतले सबै जात बाच्न पाउने अधिकार भएको ठोकुवा गरे ।
उनले दुई बालबालिकालाई १५ वर्षसम्म मासिक जनही १ हजारका दरले खाद्यान्नका लागी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । देशमा जातीय विभेद र छुवाछुत अझै पनि विद्यमान रहेको बताउँदै उनले सबै भन्दा बढी पीडा र चोट दलित समितिमा परेको बताए ।
राष्ट्रिय एकीकरणदेखि हालसम्म दलित समुदायको योगदान निर्णायक भएको दावी गर्दैै अध्यक्ष महतले देशका लागी आहूती दिने ११ हजार दलित सहिदहरुको परिवारलाई सम्मान गर्न सरकारले आनाकानी गरिरहेको आरोप समेत लगाए । समान अधिकार र समावेशीतासहितको एजेण्डा सवै पार्टीले उठान गर्नुपर्ने देखिएको बताउँदै माओवादी केन्द्रले १५ प्रतिशत दलित समुदायलाई अधिकार दिएको बताए ।
कार्यक्रममा सैनामैना नगरपालिकाका वडा नम्बर ९ का वडाअध्यक्ष डोलनाथ भण्डारीले दलित समुदायलाई समान व्यवहार र अधिकार सुनिश्चित गर्नुपर्ने बताए । दलित समुदायका लागी वडामा पनि विविध कार्यक्रम ल्याएको बताउदैँ यो आवासका थप रकम समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सैनामैना दलित उत्थान समितिकै सक्रियतामा बेसहारा बालबालिकालाई आवास निर्माण गरिएको समितिका अध्यक्ष अम्बिका परियारले बताइन् । गरीब दुखीको सहारा बन्दै समिति अघि बढेको बताउँदै परियारले यो अभियानमा सवैको साथ सहयोग आवश्यक रहेको बताइन् ।
अध्यक्ष परियारले दलित समुदायका हकअधिकार सुनिश्चित गर्न र समुदायलाई राज्यको मुल प्रवाहमा ल्याउन सक्रिय भएर लागेको कुरा उल्लेख उनले गरिन् ।कार्यक्रममा मुकुन्द दुधराजको स्वागत तथा वडा सचिबको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij