२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

कांग्रेसले मात्रै मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्छ : केन्द्रीय सदस्य रज्जाक 

सोमवार , चैत्र ७, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, ७ चैत ।
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले कांग्रेसले मात्रै मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्ने बताएका छन् । उनले कांग्रेसको नेतृत्वमा बनेको नेपालको संविधानमार्फत मुस्लिम समुदायको छुट्टै पहिचान कायम गरिएको बताए ।

    नेपाल मुस्लिम संघ, रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनलाई सोमबार भैरहवामा उद्घाटन गर्दै नेता रज्जाकले कम्युनिष्ट तानाशाही भएको बताए । उनले भने, ‘लोकतन्त्र कमजोर भए कांग्रेस कमजोर हुन्छ, कांग्रेस कमजोर भए मुस्लिम समुदायको हकअधिकार कमजोर हुन्छ । ’

    लोकतन्त्र नरहे कुनै अधिकार सुनिश्चित नहुने उनले बताए । कांग्रेस मजबुत रह्यो मात्रै संविधान रहने उनले दावी गरे । नेता रज्जाकले संविधान नरहे सबै अधिकार गुम्ने बताए । उनले भने, ‘संविधान अनुसार अधिकार चाहियो भने नेपाली कांग्रेसलाई जिताउनुपर्छ । ’कम्युनिष्टलाई जिताए संविधानको रक्षा हुन नसक्ने उनले बताए ।

    कांग्रेस मात्रै लोकतन्त्र मान्ने पार्टी भएको उनले जिकिर गरे । केपी ओली नेतृत्वको सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्वमा विदा कटौती गरेको तर सरकारको नेतृत्वमा कांग्रेस सभापति शेरबहादुर देउवा आइसकेपछि भने विदा दिने कार्य पुनः सुरु भएको उनको भनाइ थियो । मुस्लिम समुदाय र सम्पूर्ण जातजातिको सम्मान कांग्रेसले गर्ने नेता रज्जाकले बताए ।

    उनले लोकतन्त्र अलि ढिलो आउँदा मुस्लिम समुदाय पछाडी परेको बताए । उनले भने, ‘मुलुकमा लोकतन्त्र अलि छिटो आए पनि मुस्लिम समुदायले अलि छिटो अधिकार पाउँथ्यो ’। 

    कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले कम्युनिष्ट पार्टीले मुस्लिम समुदायलाई महत्वपूर्ण पदमा अवसर नदिएको बताए । उनले मुस्लिम समुदायलाई अवसर दिने र सम्मान गर्ने पार्टी कांग्रेस मात्र भएको दावी गरे । कांग्रेस बलियो भए मात्रै मुस्लिम समुदायको अधिकार सुनिश्चित हुने उनले बताए । उनले भने, ‘अब स्थानीय निर्वाचन आउँदैछ, संगठन विस्तारमा लाग्नुस्, संगठन विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । ’

    त्यस्तै कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले मुस्लिम समुदायलाई कांग्रेसले उच्च मुल्यांकन गरेको बताए । कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले कांग्रेसले सबैलाई समेट्ने बताए ।

    कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङले कम्युनिष्ट शासन भएको मुलुकमा मुस्लिम समुदायको सम्मान नभएको बताए । नेपाल मुस्लिम संघका केन्द्रीय सचिव मोहम्मद सफिक मुसलमानले कांग्रेसले निर्वाचन जित्दा सम्पूर्ण मुस्लिम समुदायले जित्ने बताए ।

    मुस्लिम संघका केन्द्रीय वरिष्ठ सल्लाहकार अहमद मिया हुसेनले एमसीसीबारे रहेको भ्रम चिर्न आवश्यक रहेको बताए । मुस्लिम संघ मायादेवी गाउँपालिका सभापति सुल्ताने आलमले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई सम्पूर्ण स्थानीय तहमा विजयी गराउनुपर्ने बताए ।

    मोहम्मद महमुद आलमको अध्यक्षता तथा सचिव सब्बीर मियाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने संघले जनाएको छ ।