सोमवार , चैत्र ७, २०७८
भैरहवा, ७ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ को टोल कमिटी गठन भएको छ । स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा एमालेले संगठन विस्तारसंगै टोल कमिटी गठनलाई समेत तीव्रता दिएको छ । वडा नम्बर १२ स्थित जनता पथ र रुद्र पथमा टोल कमिटी गठन भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद पन्थीले सिद्धार्थनगरमा महागठबन्धन भए पनि एमालेकै जित हुने दावी गरे ।
स्थानीय निर्वाचनमा एमाले पार्टी पहिलो नै भएका कारण एमालेको विकल्प अन्य पार्टी हुनै नसक्ने उनले ठोकुवा गरे । ‘हरेक हिसाबले सबल र सक्षम छौं, एक्लै अत्याधिक मतका साथ सिद्धार्थनगरमा चुनाव जित्छौं, ’पन्थीले भने ।
जनता पथमा देवीलाल खातीको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन भएको छ भने रुद्र पथमा विनोद लगुनको अध्यक्षतामा ८ सदस्यीय कमिटी, कालिका स्थानमा आशिष पन्तको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन एमालेका सिद्धार्थनगर उपसचिव कुमार गुरुङले बताए ।
एमाले वडा नम्बर १२ का अध्यक्ष सुशील कुंवंरको अध्यक्षतामा भएको टोल कमिटी गठन कार्यक्रममा एमालेका जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज चोपलाल आचार्य, पार्टीका जिल्ला सदस्य तथा नगर सह–इञ्चार्ज डिजाइन थापा, जिल्ला सदस्य तथा क्षेत्रीय सह–संयोजक प्रेम कुमार सेञ्चुरी, नगर उपसचिव कुमार गुरुङ, पूर्व क्षेत्रीय अध्यक्ष घनेन्द्र विक्रम पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij