प्रहरी समयमा नपुग्दा घटना भएको स्थानीयको आरोप
सोमवार , चैत्र ७, २०७८
भैरहवा, ७ चैत ।
रुपन्देहीको मर्चवारी गाउँपालिकामा हुलदंगा गर्ने समूहको प्रहारबाट पाँचजना घाइते भएका छन । प्रतिकारमा चारवटा मोटरसाइकल तोडफोड भएका छन् । प्रहरी समयमा नपुग्दा घटना भएको स्थानीयको आरोप छ ।
यसअघि चैत ४ गते शुक्रबार होली पर्वमा हुलदंगा गर्ने ती समूहले विवाद झिकेर लाठी डण्डा र घरेलु हतियारसहित मर्चवारी गाउँपालिका–२ स्थित अमवाका रामसहाय कुर्मीको घर घेराहाली गाली गलौज गर्न थालेपछि गाउँलेले लखेटेका थिए ।
कुर्मीले ५ गते शनिबार इलाका प्रहरी कार्यालय मर्चवारमा ठाडो उजुरी दिएपछि छलफलका लागि चैत ६ गते इ.प्र.का मर्चवार बोलाइएको थियो । बाटोमा पहिलैदेखि ढुकी बसेका ती समूहले करिब १० बजे कामको सिलसिलामा रायपुरस्थित गाउँपालिकाको कार्यालय जाँदै गरेकी कुर्मीकी छोरी लक्ष्मी कुर्मीलाई घेरा हाली दुव्र्यहार र कुटपिट गर्ने प्रयास गर्दा उनी उम्की भागेर ज्यान जोगाएको बताएकी छन् ।
लक्ष्मीले लगत्तै ईलाका प्रहरी कार्यालय मर्चवारमा फोन गरिन तर प्रहरी पुगेन । उनले आफ्नो घरपरिवारलाइ घटना बारेमा बताइन् । उनका बुबा रामसहाय कुर्मी ती समूहबाट जोगिदै इप्रका पुगेर बेली बिस्तार सुनाउँदा पनि प्रहरी तत्काल घटनास्थल नपुगेको बताए ।
अघिल्लो घटनामा छलफलका लागि इप्रका जादै गर्दा रामसहायका छोराहरू राकेश कुर्मी, उमेश कुर्मी लगायतलाई मर्चवारी–२ स्थित रायपुरबाट करिब ५० मिटर पुर्व पहिलैदेखि ढुकेर बसेका ती समूहले कुटपिट गर्न थालेको देखेर स्थानीयले ज्यान जोगाएको कुर्मीको भनाइ छ ।
विपक्षी समूहले बाटो छेकी कुटपिट गरिरेको व्यथा फोनमार्फत इप्रकामा बसिरहेका आफ्ना बुबा रामसहायलाई उमेश कुर्मीले सुनाउँदा उनले प्रहरीलाइ तत्काल छोराहरूको ज्यान जोगाउन आग्रह गरे पनि १० मिनेटको बाटो प्रहरी एक घण्टा ढिलो गरी पुगेको प्रत्यक्षदर्शीको आरोप छ ।
पीडितहरूको ज्यान जोगाउन ३० बढीको संख्यामा रहेका समूहमाथि उपस्थित वरपरका स्थानीय जाइलाग्दा उनीहरूमध्ये केहीले मोटरसाइकलसहित त केहीले छोडेर भागेको बताइएको छ । आक्रोशित स्थानीयले ती समूहको चारवटा मोटरसाइल तोडफोड गरेको इप्रका मर्चवारले जनाएको छ ।
‘बाटोमा अवरोधका कारण प्रहरी ढिलो पुगेको हो’
इप्रका मर्चवारमा कार्यरत प्रहरी नायब निरीक्षक एन.बी. साउदका अनुसार बाटोमा अवरोधका कारण मात्र प्रहरी ढिलो पुगेको हो । प्रहरी घटनास्थल पुग्दा कुटपिट गर्ने समूह भागी फरार भएकोले खोजी कार्य जारी रहेको उनले बताए ।
‘घटनास्थलमा उनीहरूले छोडी भागेका मोटरसाइकल नियन्त्रणमा लिएका छौ, उनले भने, घाइतेको अवस्था सामान्य छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij