भैरहवा। गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो संस्करणमा भैरहवाका भुपेन्द्र थापामगर विजयी बनेपछि भैरहवावासी खुसी बनेका छन्। शनिबार भएको फाइनलमा भैरहवाका थापाले उपाधी जितेपछि भैरहवावासीले खुसी मनाएका छन्।
एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘नेपाल आइडल’को चौथो संस्करणको फाइनलमा नाम्गेल तामाङ, रञ्चित नेपाल, विश्वास उप्रेती र लक्ष्मी पौडेलाई उछिन्दै मगर प्रथम बनेका हुन्। प्रथम भएसँगै उनले ३० लाख रुपैयाँ र नेपाल आइडलको ट्रफी प्राप्त गरे। उनलाई विजयी गराउनका लागि भैरहवावासीले महत्वपूर्ण भुमिका खेले। उनलाई विजयी गराउनका लागि भोटिङ गर्नुका साथै उद्योगी, व्यवसायी, सर्वसाधरण लगायतले भोटिङका लागि स्वस्फूर्त रुपमा रकम समेत सहयोग गरेका थिए।
सांगितिक क्षेत्रमा लाग्नका लागि परिवारका साथ भुपेन्द्रलाई विजयी गराउनमा भैरहवा कला केन्द्रका उनका गुरु किशोर विश्वकर्माका साथै कला केन्द्रका साधक दिपक लामगादे, समाजसेवी ओम कुमार श्रेष्ठ, दिपेन्द्र प्रधान, प्रकाश घिमिरे, साजनजंग राणा, दिपेन्द्रमान श्रेष्ठ, रामकुमार शर्मा, गणेश क्षत्री, रुप माया पुन लगायत भैरहवावासीले महत्वपूर्ण भुमिका खेलेका थिए ।
नेपाल आईडल सिजन ४ का विजेता भुपेन्द्र भएकोमा आफुहरु गौरवान्दित भएको भुपेन्द्रलाई विजयी गराउनका लागि अभियान चलाएका भैरहवाका समाजसेवी ओम कुमार श्रेष्ठले बताए। उनले थापाको बिजयी भैरहवावासीका लागि ऐतिहासिक दिन बनेको बताए। उनले भैरहवा औद्योगिक, खेलकुद, पर्यटन क्षेत्र मात्र नभई सांगतिक क्षेत्रमा पनि पहिलो नम्बरमा रहेको उल्लेख गरे।
एक दशक भन्दा अघि ईन्डियन आइडलमा नेपाली मूलका भारतीय नागरिक प्रशान्त तामाङ समेत फाइनलमा प्रवेश गर्दा भैरहवावासीले रकम संकलन गरेर भोटिङ गरी विजयी बनाएका थिए। यस्तै भारतमा भएको डान्स ईन्डिया डान्स प्रतियोगितामा रुपन्देहीको साविक रुद्रपुर गाविसकी तेरिया फौजा मगरलाई पनि विजयी बनाउनका लागि भैरहवावासीले महत्वपूर्ण भुमिका खेलेका थिए। अभियन्ता श्रेष्ठ भन्छन–‘जब भैरहवा लाग्छ तब प्रतिस्पर्धी विजयी भवः।’
को हुन भुपेन्द्र थापा मगर ?
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ३ दरखसवा का स्थायी बासिन्दा भुपेन्द्र थापा मगर सेरु थापा मगर र रत्ना थापा मगरको कान्छो छोरा हुन्। भुपेन्द्रको चार जनाको परिवार छ। वुवा आमा, दिदी र भुपेन्द्र। दिदीको विवाह भइसकेको छ। वुवा पूर्व भारतीय सैनिक हुन।
भैरहवाको सन साइन आवसीय उच्च माध्यामिक विद्यालयबाट एलएससी र माध्यमिक तह अध्ययापन गरेका भुपेन्द्र हाल भैरहवा बहुमखी क्याम्पसमा स्नातक अध्ययन गरिरहेका छन्।
भैरहवा स्थित भैरहवा कला केन्द्रमा विगत ६ वर्ष देखि संगितको विद्यार्थी रहेको उनी अन्ततः नेपालको आइडल बनेका छन्। दुई पटक नेपाल आइडलमा पराजित भएका भुपेन्द्र तेस्रो प्रयासमा सफल भएका छन्।
यसरी भयो विजयीको सुरुवात
तेस्रो पटक अडिसनमा जाने इच्छुक नभएका भुपेन्द्रलाई कला केन्द्रका साधक (संगितका विद्यार्थी) दिपक लामगादेले उनलाई अडिसन लागि पुनः प्रेरित गरेका थिए। करिब ४ महिना पोखरामा भएको अडिसनमा उनी छानिएका थिए। अडिसनमा छानिएर टप १२ मा पुगेपछि साधक दिपकले भैरहवाका ओम कुमार श्रेष्ठलाई सम्पर्क गरे।
त्यसपछि श्रेष्ठले नेपाल आइडलमा भुपेन्द्रलाई विजयी गराउनका लागि अभियान चलाएका थिए। अभियानमा साथीभाई जोडिदै गए। हौसला थपिदै गयो। उता सिद्धार्थनगर नगरपालिका– ३ को रुपमापा पुनको संयोजकत्वमा पनि विजयी अभियान चलाइयो। टप ५ मा पुगेपछि भुपेन्द्र भैरहवा आएर सांगितिक कार्यक्रम गरे र भैरहवावासीसगँ विजयी गराउनका लागि अपिल गरे। अन्ततः भैरहवावासी समेतको सहयोगमा भुपेन्द्रले नेपाल आइडल सिजन– ४ को उपाधी चुम्न सफल भए।