२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

तराईमा आज होली हर्षोल्लासका साथ मनाइँदै

शुक्रवार , चैत्र ४, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • विराटनगर, ४ चैत ।
    रंगको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।

    होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । केही मुस्लिम समुदायका युवाले होली मनाउने समूहसँग मिलेर पर्व मनाउने गरेको युवा नेता वसिम आलमले बताए । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास गरिन्छ ।

    कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली) तराईका जिल्लामा आज धुमधामसँग मनाइँदै छ । रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रंगमा रंगिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ । 

    फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रंग र रंगीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ । यस पर्वका लागि बजारमा फलफूल, मासु, रङ र अबिरको बिक्री बढेको पाइएको छ । खसीको मासुको मूल्य किलो रु २०० बढेर प्रतिकिलो रु एक हजार २०० पुगको छ । ब्रोइलर कुखुराको मासु रु ३८० बाट प्रतिकिलो रु ४५० पुगेको स्थानीय मासु पसले मोहम्मद करियाले जानकारी दिए ।

    होली पर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । होली पर्वका कारण बजारमा चहलपहल बढेको पाइएको छ । रासस