२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

‘काम गर्न चुनौतीहरुको सामना गर्न नपरोस्’

शुक्रवार , चैत्र ४, २०७८

बुटवल, ४ फागुन । 
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले रोजगार तथा व्यवसाय गर्नको लागि चुनौतीहरुको सामना गर्न नपर्ने वातावरण बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघ नेपालको आयोजना गरेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका चुनौती र समाधानसम्बन्धि अन्तरक्रियामा बोल्ने वक्ताहरुले यो समुदायका व्यक्तिले चुनौतीहरु सामना गर्न नपर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेशका मन्त्रालय तथा अन्य विभिन्न सामाजिक संघ–सस्थाहरुका प्रतिनिधिहरुबीच भएको अन्तरक्रियामा बोल्दै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका उपसचिव दामोदर भण्डारीले प्रदेश सरकारले यस समुदायका व्यक्तिहरुका कानून निर्माण गर्दा आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले यो समुदायका व्यक्तिहरुले निकै समस्याहरु भोग्नुपरेको बताउँदै अबका दिनमा विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेशका उपसचिव यम बहादुर केसीले यो समुदायका व्यक्तिहरुको अध्ययनमा समस्या भोगेको सुनाउँदै अब यो समस्या हुन नदिनको लागि सबै सचेत हुनुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारबाट हुने काममा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । 

कार्यक्रममा बोल्दै यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघ नेपालकी उपाध्यक्ष भुमिका श्रेष्ठले बोल्दै अझै पनि यो समुदायले निकै लान्छना भोग्नु परेको बताउँदै अब त्यस्तो हुन नहुनेमा ध्यानाकर्षण गराइन् । उनले संविधानमा भएका अधिकार समेत यो समुदायले प्रयोग गर्न नपाएको बताउँदै ती अधिकार कार्यान्वयन गर्न सहयोग गर्न आग्रह गरिन् । उनले समुदायको पहिचानकै लागि अहिले काम भइरहेको बताउँदै लुम्बिनी प्रदेशमा अन्य प्रदेशको तुलनामा राम्रा कामहरू भएको बताइन् । 

साहसी कदम नेपाल अध्यक्ष आनिक रानाले बोल्दै व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताइन् । उनले अवस्था परिवर्तन नहुँदा धेरै समस्या भोग्नुपरेको बताइन् ।

एक्लोलाई सहारा दिने वृक्ष समूह, रुपन्देही कार्यक्रम संयोजक मनिला न्यौपानेले यो समुदायका व्यक्तिहरुलाई जीवनयापन गर्नको लागि निकै चुनौतीहरु रहेको बताइन् ।

कार्यक्रममा नवजीवन कपिलवस्तु अध्यक्ष मुस्कान क्षेत्री, परि थापा, टीकाराम भुसाल लगायतले आफुले भोगेका समस्याहरुको बारेमा सुनाएका थिए । उनीहरुले शिक्षा तथा रोजगारीको सिलसिलामा निकै समस्या भएको बताउदै यसको अन्त्य हुनुपर्ने माग गरे । कार्यक्रम रेशम न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।