बुधवार , चैत्र २, २०७८
वालिङ, २ चैत ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले कुनै पनि हालतमा कालीगण्डकी डाईभर्सन हुन नदिने बताएका छन् ।
स्याङ्जाको चापाकोट–८ खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु श्री निम्बार्काचार्य भगवान, विरचित बेदान्त दशश्लोकी माथि दार्शिनिक प्रवचन कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले कालीगण्डकी सभ्यताको संरक्षणका लागि पनि डाईभर्सन हुन नदिने उल्लेख गरे । “कालीगण्डकी नदी अन्य नदीजस्तो होइन, यसको छुट्टै महत्व र विशेषता छ”, उनले भने “कालीगण्डकी हाम्रो सभ्यता, आस्था, भावना र शालीग्रामसँग जोडिएको छ ।”
नेपाली कांग्रेसले गण्डकी प्रदेशमा यसअघि प्रतिपक्षमा रहँदा पनि डाईभर्सन हुन नदिने आवाज उठाएको र अहिले सरकारमा हुँदा पनि सोही धारणा रहेको उनले बताए । “गण्डकी प्रदेशको उन्नति र विकासको महत्वपूर्ण आधार पर्यटन हो”, मुख्यमन्त्री पोख्रेलले भने, “धार्मिक र सांस्कृतिक आस्थाको रुपमा रहेको यस नदीको सभ्यतासँगै बृहत्तर योजनाका बारेमा अध्ययन गर्नका लागि गठबन्धनको सरकार बनेसँगै कार्यदल बनेको छ, कार्यदलले दिएको प्रतिवेदनका आधारमा आगामी वर्षदेखि थप योजना बनाउँछौँ ।”
कालीगण्डकीको उद्गमस्थल दामोदर कुण्डदेखि गजेन्द्रमोक्ष धामसम्मकाबीचमा रहेका धार्मिक एवं सांस्कृतिक महत्वका स्थलको विकास र विस्तार गर्दै अगाडि बढ्ने उनले बताए । उनले कालीगण्डकी नदीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि गण्डकी प्रदेश सरकारले बृहत्तररुपमा नीति तथा योजना ल्याउने बताए ।
सोही कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लले कालीगण्डकी उपत्यकाको विकास र विस्तारका लागि कालीगण्डकीमाथि पक्की पुल बन्ने क्रममा रहेको बताए । उनले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले कालीगण्डकी बेँसीको प्रचुर सम्भावना रहेकाले यसको विकासका लागि गुरुयोजना निर्माण भइरहेको उल्लेख गरे । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij