मंगलवार , चैत्र १, २०७८
चितवन, १ चैत ।
भरतपुर–२६ दिव्यनगर निवासी गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुक्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाइ मंगलबार उनकै गृहनगरमा सम्मान गरिएको छ । भरतपुर–२६ वडा कार्यालयले नवर्निमित भवन उद्घाटनको अवसर पारेर प्रदेश प्रमुखद्वयलाइ सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरतपुर महानगरपालिका रेणु दाहालले गुरूङ र शेरचन गण्डकी र लुम्बिनी प्रदेश प्रमुख भइरहँदा समग्र सिंगो चितवनलाई गौरबबोध भएको बताइन् ।
वडा कार्यालयको थप भवनको उद्घाटन गर्दै प्रमुख दाहालले विकास निर्माण काममा भरतपुर महानगरपालिकाले छोटो अवधिमा लामो फडको मारेको बताइन् ।
प्रदेश प्रमुख गुरुङले चार दशक भन्दा लामो समय राजनीतिको दौरानमा प्रदेश प्रमुख हुने अवसर मिलेको र आफ्नो कार्यकाल असल काम गरेर बिताउने बताए ।
प्रदेश प्रमुख गुरुङले भने, ‘अब मैले सक्रिय राजनीतिबाट विश्राम लिएको छ, म तटस्थ बस्नेछु, प्रदेश प्रमुखको भूमिका मात्र निभाउनेछु ।’ उनले आफू गण्डकी प्रदेशमै जन्मेको हुनाले गण्डकी प्रदेशको विकासमा निरन्तर लाग्ने बताए । चितवनबाटै राजनीति गरेको हुनाले गण्डकी प्रदेशको प्रमुखको नाताले पनि चितवनको विकासमा सक्दो योगदान पुर्याउने उनको भनाइ थियो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवन बसाइसराइसँगै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका हुन् ।
त्यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश प्रमुखको जिम्मेवारीमा रहँदा त्यही जिम्मेवारीलाई आत्मसात् गर्दै अघि बढेको स्पष्ट पारे । आफ्नो बाँकी जीवन पनि राष्ट्रिय अखण्डता, स्वाभिमान र लोकतन्त्रका पक्षमा रहने उनले बताए । संविधान, नियम र कानूनलाई आफूले सधैंँ प्राथमिकतामा राखेको उनले बताए । उनले सहमतिमा मुलुकको राष्ट्रियता र सार्वभौमिकता जोगाउन सक्ने बताए ।
आफू पदका लागि कहिल्यै नलागेको स्पष्ट पार्दै शेरचनले मनमोहन अधिकारीपछि नेकपा (एमाले) का अध्यक्ष केपी ओली र राष्ट्रपति डा. रामवरण यादवपछि राष्ट्रपतिको जिम्मेवारीका लागि आएको प्रस्तावलाई आफूले अस्वीकार गरेको जिकिर गरे ।
भरतपुर–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर–२६ को नवनिर्मित भवनको निम्ती २ कठ्ठा जग्गादान गरेका स्व. एकदेव प्रधानका परिवारजनहरू हिरण्यदेव प्रधान, यज्ञदेब प्रधान, दिव्यदेव प्रधान र लक्ष्मीदेवी प्रधानलाई र रू. ६ लाखमा थप १ कठ्ठा ७ धुर जमिन खरीदका निम्ति सहयोग गरेका सहयोग दाताहरूलाइ पनि सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij