यही अवस्था गौश्वारा सामुदायिक वनको पनि छ । पहिला पहिला रातारात फँडानी हुने वन अहिले हराभरा भएको छ । वनभित्र जङ्गली जनावरको रजगज छ । मानिस वनमा पस्नै डराउने गरेका स्थानीयवासी रत्न बम मल्लले बताए । जिल्लाका सबै सामुदायिक वनले चरिचरनमा रोक लगाएका छन् । चरिचरन रोकिनुका साथै घाँस दाउरा गर्न गाउँले जङ्गल पस्न छोडेपछि प्राकृतिक रुपमा नै वन जङ्गल हराभरा हुन थालेका भकिम्लीका श्याम हुमेनले बताए ।
सामुदायिक वन उपभोक्ता महासङ्घ म्याग्दीका अनुसार जिल्लाका ३०० बढी सामुदायिक वनको अवस्था अहिले सुधार हुँदै गएको छ । सामुदायिक वनको आम्दानीले सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण भूमिका खेल्दै आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीका चन्द्रमणि सापकोटाले बताए ।
तीनै तहका सरकार तथा वन पैदावार बिक्री गरेर मनग्य आयआर्जन गर्ने समूहले नर्सरी वनको प्रवर्द्धनमा सहयोग पुर्याउनेलाई अनुदानको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
‘समुदायमा हस्तान्तरण भएपछि सामुदायिक वनहरू समृद्धिको आधारका रूपमा अघि बढिरहेका छन्,’ उनले भने, ‘समुदायले संरक्षण गर्न थालेपछि वन क्षेत्र वृद्धि भएको छ, वातावरणीय सन्तुलन गर्न योगदान गरेको छ, गरिबी निवारण, आयआर्जन, नेतृत्व तथा क्षमता विकास, सामाजिक विकास, समावेशी संरचनाजस्ता नमुना कार्यले सामुदायिक वन क्षेत्र समृद्धिको बलियो आधारका रूपमा स्थापित भइरहेका छन् ।’
जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समूहले वनको नजिक र टाढा रहेका सबै उपभोक्तालाई समेट्दै प्राकृतिक स्रोतको समुचित उपयोगमा जोड दिंदै आएको महासङ्घले जनाएको छ । महासङ्घ तथा उपभोक्ता समूहको निर्णायक पदमा महिला, गरिब, विपन्न, आदिवासी जनजाति, अल्पसङ्ख्यक समुदायलाई ५० प्रतिशत सहभागिता सुनिश्चित गरी नेतृत्वमा ल्याउने काम सामुदायिक वनको उत्कृष्ट र सफल अभ्यास रहेको महासङ्घका सचिव ठाकुर भण्डारीले बताए ।
२०५१ सालदेखि सुरु भएको सामुदायिक वनको अवधारणा अनुरुप हालसम्म सरकारले सातवटै प्रदेशमा २२ हजार २२२ वन समूहलाई हस्तान्तरण गरिसकेको छ । देशका कूल सामुदायिक वन समूहमध्ये लगभग ३० प्रतिशत आर्थिक रुपमा कमजोर छन् । कूल वन क्षेत्रको १७ प्रतिशत संरक्षण क्षेत्र बनाउने अन्तर्राष्ट्रिय अभ्यास रहे पनि नेपालमा करिब ४० प्रतिशत वन संरक्षण क्षेत्रको रुपमा छ ।
सामुदायिक वन ग्रामीण महिला तथा विपन्न समुदायका लागि आयआर्जनको माध्यम बनिरहेको छ । वनमा आधारित जडिबुटी तथा वनपैदावर विपन्न समुदायको आम्दानीको प्रमुख स्रोत बनेको छ । जिल्लाका अधिकांश सामुदायिक वनमा जडिबुटी र घाँस खेती हुने गरेकाले विशेषगरी महिलाहरूलाई आत्मनिर्भर बनाउन सहज भएको सचिव भण्डारीको भनाइ छ । रासस