
आइतवार , फाल्गुण २९, २०७८
बुटवल, २९ फागुन ।
नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा स्थानीय तहको चुनावको तयारी थालेको छ । कांग्रेस प्रदेश समिति र जिल्ला समितिहरु जनतामाझ पुगेर चुनावी अभियान सुरु गरेका छन् । प्रदेश समितिले प्रदेशका १२ वटा जिल्लामा प्रतिनिधि खटाएर चुनावी अभियानको थालनी गरेको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए ।
उनका अनुसार कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने अभियान गाउँटोलसम्म पुर्याउनेछ । त्यसअन्तरगत कपिलवस्तुमा अभियानअनुसार अन्तरक्रिया कार्यक्रम भएको छ । गाउँनगरमा अभियान अन्तरगतका कार्यक्रमका लागि प्रदेशबाट टोली खटाइएको छ ।
अभियानका लागि कांग्रेस प्रदेश समितिले रुकुम पूर्वमा सरिता बुढाथोकी, पञ्चबहादुर बुढा र बच्छु पुनलाई खटाएको छ । त्यस्तै रोल्पामा अमर भण्डारी र सुवास केसी, प्युठानमा टेकबहादुर बस्नेत र पुष्पा श्रेष्ठ, दाङमा रवि वि.क., सुरेशराज योगी, लक्ष्मी थारु, मोतीलाल भण्डारी, टेकनारायण भुसाल र प्रेम केसीलाई खटाउने निर्णय गरेको छ ।
त्यस्तै बाँकेमा साधना रावत, जानका केसी, भेषराज पौडेल, पुष्पा श्रेष्ठ, पुष्पलाल श्रेष्ठ र शान्ति गैरे, बर्दियामा अञ्जना पाण्डे, विन्दुकुमारी चौधरी, दीर्घ केसी, पवन नेपाली, कपिलवस्तुमा लक्ष्मण पन्थी, बालकुमारी भण्डारी, सावित्रा टण्डन, सुमित्रा आचार्य, रामबहादुर कार्की, दीक्षा कोईराला, वासुदेव यादव र इसाक जोलाहालाई खटाउने निर्णय गरेको कांग्रेस प्रदेश समितिले जनाएको छ ।
त्यस्तै रुपन्देहीमा द्रोणबहादुर खत्री, कपिलदेव तिवारी, माधव प्रसाद खरेल, कल्पना घिमिरे, प्रेमलता भट्ट, सुवास केसी, रविन्द्रनाथ ठाकुर, अलविरा खान, प्रचण्डविक्रम न्यौपाने र रुकबहादुर क्षेत्री भुसाललाई खटाएको सभापति पुनले जानकारी दिए ।
त्यसै गरी, नवलपरासीमा कुसुम ज्ञवाली, अष्ठभूजा पाठक, प्रकाश राना, लिलाकुमारी पौडेल, पाल्पामा माया ज्ञवाली, चित्रबहादुर केसी, शान्ति शर्मा, सविता कुमारी शाक्य, गुल्मीमा भीम बहादुर आले, राजेन्द्र भट्टराई, विष्णुमाया ढकाल र शान्ता भण्डारीलाई खटाएको छ ।
त्यस्तै अर्घाखाँचीमा रिना नेपाल बिक, रोमलाल खनाल र विष्णुकुमारी सापकोटालाई खटाउने निर्णय गरेको कांग्रेस लुम्बिनी प्रदेश समितिले जनाएको छ ।
स्थानीय तहका उम्मेदवारको मापदण्ड र योग्यता तय
नेपाली कांग्रेस लुम्बिनी प्रदेशले स्थानीय तहमा उठ्ने उम्मेदवारहरुको मापदण्ड र योग्यता तय गरेको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिको बुटवलमा बसेको बैठकले आगामी बैशाख ३० गते घोषणा गरिएको उम्मेदवार छनौटको मापदण्ड र योग्यता तय गर्ने निर्णय गरेको हो।
कांग्रेस लुम्बिनी प्रदेशले उम्मेदवार बन्न ६ वटा आधार र योग्यता तय गरेको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए । काँग्रेस लुम्बिनीले पार्टीमा गरेको योगदान, कार्यक्षमता र कार्यकुशलता, दक्षता सहितको समावेशीतालाई प्राथमिकता, क्रियाशिलता, निरन्तरता, निष्ठा र त्यागका आधारमा मूल्यांकन गरी उम्मेदवार तय गर्ने मापदण्ड तोकेको छ । त्यस्तै प्रतिस्पर्धी पार्टीका उम्मेदवार र अवसरहरुमा उचित र न्यायिक हुने गरी स्थानीय तहमा उम्मेद्वार तय गर्ने मापदण्ड तय गरिएको पुनले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनमा अन्य पार्टीहरुसँग गठबन्धन गर्ने वा नगर्ने सम्बन्धमा सम्बन्धित स्थानीय तहको आवश्यकता र परिस्थिति अनुसार अघि बढ्ने निर्णय भएको समेत सभापति पुनले बताए ।
कांग्रेसले लुम्बिनी प्रदेशका १ सय ९ वटै स्थानीय तहमा न्यायोचित रुपमा उम्मेदवार तयार गरेर स्थानीय तहको चुनावमा भिड्ने जनाएको छ । बुटवल, तुल्सीपुर, घोराही र नेपालगञ्ज उपमहानगरमा समेत यो पटक काँग्रेसले जित्ने सभापति पुनको दावी छ । उनका अनुसार चैत २० अगावै कांग्रेसले स्थानीय तहका उम्मेद्वारहरुको टुंगो लगाउनेछ । विगतमा केन्द्रबाट उम्मेदवार तय गर्दा त्यसले नतिजामा प्रभाव पारेकाले यो पटक निर्वाचन क्षेत्र, गाउँनगर, जिल्ला र प्रदेशले उम्मेदवार तय गरेपछि केन्द्रले निर्णय गर्ने उनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij