बुधवार , फाल्गुण २५, २०७८
काठमाडौँ, २५ फागुन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिएका छन्।
लुम्बिनी विकास कोषले आज मन्त्रालयमा आयोजना गरेको कोषका नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा उनले लुम्बिनी क्षेत्रको विकासका लागि तत्काल खटिन कोषका पदाधिकारीहरुलाई आग्रह पनि गरे।उनले भने, “तपाईंहरुको पाँचवर्षे कार्यकाल छ, आफ्नो कार्यकालभित्र लुम्बिनी क्षेत्रको विकास गर्नुस्।”
मन्त्री आलेले आउँदै गरेको बुद्ध जयन्तीलाई भव्य तथा सभ्य रुपमा सफल पार्नका लागि एकजुट भएर लाग्न सबै पदाधिकारी र कर्मचारीहरुलाई निर्देशन पनि दिए।उनले भने, “बुद्ध जयन्तीका लागि सबै जुटौँ, देश विदेशबाट जति सक्दो बढी बुद्ध धर्मावलम्बी तथा पर्यटकलाई भित्र्याउनका लागि प्रचारप्रसारमा लाग्नुस्, मैले गर्नुपर्ने सहयोग म गर्न तयार छु।”
मन्त्री आलेले नवनियुक्त पदाधिकारीलाई शुभकामना तथा बधाई दिदै उच्च मनोबलका साथ काम गर्नसमेत पदाधिकारीलाई निर्देशन दिए। हालसम्म लुम्बिनी विकास कोषअन्तर्गत ८१ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको र बाँकी काम सम्पन्न गर्नका लागि जति लाग्छ, त्यसको लागत स्टिमेट ल्याउन र एकै चोटि काम सम्पन्न गर्ने गरी बहुवर्षीय प्रक्रियाबाट काम अगाडि बढाउने गरी काम गर्न उहाँले आग्रह गरे। मन्त्री आलेले लुम्बिनी क्षेत्रमा हाल भइरहेका कामहरु क्वालिटी योग्य भएको आफूले अनुगमनका क्रममा पाएकाले सोही अनुसार अन्य काम पनि अगाडि बढाउन निर्देशन दिए। रासस
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij