२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

टोल सरसफाई गर्दै गोलीगढ क्षेत्रका बासिन्दा

बुधवार , फाल्गुण २५, २०७८

भैरहवा, २५ फागुन ।
आफ्नो घर, टोल–छिमेक र समाजको सरसफाई सामूहिक रुपमा गर्नुपर्छ भन्ने भावना सिद्धार्थनगरमा पनि जागृत हुन थालेको छ । टोल–छिमेक अगाडि फालिएका प्लाष्टिक र फोहोरको ब्यवस्थापन गर्न प्रत्येक घरबाट भेला हुने, जनचेतना जगाउने कार्यले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित गोलीगढ क्षेत्र नमूना बन्दै गएको छ ।

सरसफाई र जनचेतनाको लागि टोल सुधार समिति गठन गरिएको छ । समितिले प्रत्येक शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म सरसफाई र जनचेतनामूलक अभियान सञ्चालन गर्छ । सडकमा जथाभावी फालिएका प्लाष्टिक, गुट्खाका खोल र अन्य फोहोर उठाउँछ, कुचो लगाउँछ र टोललाई नमुना बनाउने अभियान चलाउँछ । अभियान शुरु भएपछि टोल सफा भएको छ । सडक नालीमा प्लाष्टिकका फोहोर देखिदैन ।

करिब एक वर्ष भयो समिति गठन भयो, अध्यक्ष युवराज पाण्डे भन्छन्,‘त्यसयता टोल सरसफाई अभियान चलेको छ, स्वतस्फुर्त रुपमा स्थानीय बासिन्दाहरु भेला भएर टोलको सरसफाईमा जुट्नुहुन्छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ को ६० प्रतिशत भन्दा बढी घरधुरी समेट्ने गरी गठन भएका टोल सुधार समिति अन्तर्गत तीन वटा उपसमितिहरु गठन गरिएका छन् । गोलीगढ चोकदेखि भानुपथ पूर्व–पश्चिम क्षेत्र समेटेर कमल ज्ञवालीको अध्यक्षतामा, गोलीगढ चोकदेखि दुमदुमवा गाउँसम्म बसन्त भट्टराई र गोलीगढ चोकदेखि अञ्चलपुर–भट्टाटोल क्षेत्रमा घनश्याम भुसालको अध्यक्षतामा उपसमितिहरु गठन भएका छन् । समिति तथा उपसमितिहरु गठन भएपछि टोलको सरसफाईमा स्थानीयहरु स्वतस्फुर्त जुट्ने गरेका छन् ।

सुरुमा प्रतिपरिवार एक हजार रुपैयाँ उठाएर झाडु, पंजा, डष्टबिन किन्यौं– समितिका सल्लाहकार रामु अधिकारीले भने, ‘त्यसयता पैसा उठाएका छैनौं, सरसफाईसम्बन्धि जनचेतना जगाउने तथा स–साना विवाद झैंझगडा मिलाउने काम पनि गरिएको छ ।’

sarsasafai (2).jpg

तिलोत्तमा नगरपालिका तथा बुटवल उपमहानगरपालिकामा वर्षौंदेखि टोल समिति गठन गरी स्वास्थ्य तथा सरसफाईका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको भए पनि सिद्धार्थनगरमा भने वडा नम्बर ९ को टोल सुधार समिति पहिलो हो । यसअघि वडा नम्बर ८ को अन्नपूर्ण टोलमा सरसफाई अभियान चलाइएको थियो । गोलीगढका बासिन्दाले सुरु गरेको टोल सुधार समितिले सरसफाईसम्बन्धि जनचेतना जगाउन घरदैलो तथा विद्यालय सचेतना कार्यक्रम गरिरहेको छ । यो अभियानलाई नगरका सबै वडामा विस्तार गर्न सके सरसफाईमा निकै सहयोग पुग्ने देखिन्छ ।