
शनिवार , कार्तिक ८, २०७७
बुटवल, ८ कार्तिक ।
वडादशैंको अवसरमा आयोजित खुल्ला फुटसल प्रतियोगिताको उपाधि ईमा एफसी बुटवलले चुमेको छ । बुटवल उपमहानगरपालिकाका सहयोग तथा राधाकृष्ण फुटबल क्लबका आयोजनामा शनिबार योगिकुटी स्थित लुम्बिनी फुटसल एरिनामा भएको फाइनलमा आरके एफसीलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै ईमाले उपाधि चुमेको हो ।
उपाधिसंगै उसले नगद २० हजार कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आरके एफसीले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ ।
आरके एफसीका अनुज गैरे ९ गोल गर्दै हाई स्कोररबाट पुरस्कृत भए । आरके एफसीकै आवेस शाही राईजिङ स्टार, ईमा एफसीका हिमाल कार्की उत्कृष्ट गोलकिपर तथा ईमाकै दिपु बानिया सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत भए ।
एक समारोहकाबीच बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै खेल गतिविधिबाट नै खेलाडीहरु अवसर पाउने बताए ।
क्लबका अध्यक्ष यम बरालले स्वस्थ्य मापदण्ड अप्नाएर पहिलो फुटसल प्रतियोगिता गरेको बताए । कार्यक्रममा तिलोत्तमा खेलकुद विकास समितिका सुदिप केसी, पूर्व खेलाडीहरु प्रदिप आचार्य, मणिमुकुन्द भलिबल क्लबका संरक्षण सुरेन्द्र गुरुङ, क्लबका सल्लाहकार श्याम थापा, सुमित खनालले कोरोना संक्रमणलाई मानवीय जीवनमा अप्नाएर अघि बढ्नुपर्ने बताए ।
प्रतियोगितामा २४ टिम सहभागी रहेको संयोजक सर्वेस घलेले बताए । न्यु भिजनले युनिक फुटसललाई ट्राईबेकर भने आरकेएफसीले ग्रिलफिल्ड फुटसललाई पराजित गरेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij